काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस दिने व्यक्ति विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले आइतबार घूस लिएको आरोपमा राहदानी विभागमा कार्यरत कम्प्युटर इन्जिनियर प्रदीप भट्टराई र घूस दिएको आरोपमा सुमित्रा सापकोटा विरुद्ध मुद्दा दर्ता गरेको हो। दुवै जना विरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरले बताए।
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागमा कार्यरत इन्जिनियर भट्टराई राष्ट्रिय परिचय पत्र सहजीकरणको लागि राहदानी विभागमा खटाइएका थिए। उनले राहदानी बनाइदिने भनेर सापकोटाबाट ३४ हजार रुपैयाँ घूस लिएको अख्तियारले जनाएको छ।
अख्तियारको अनुसन्धानमा राहदानी बनाउनका लागि सापकोटाले भट्टराईको खातामा ३४ हजार रुपैयाँ जम्मा गरेको पाइएको प्रवक्ता घिमिरेले बताए। दुवै जनाले घूस लिने र दिने गरेको पाइएकाले मुद्दा दर्ता गरिएको उनको भनाइ छ।
घूस लिएको आरोप लागेका इन्जिनियर भट्टराईलाई तीनदेखि चार महीना कैद सजाय माग दाबी गरिएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार, २५ हजारदेखि ५० हजार रुपैयाँ घूस लिँदा तीनदेखि चार महीना कैद हुने व्यवस्था छ।
त्यस्तै, घूस दिएको आरोपमा सापकोटालाई भट्टराईलाई हुने सजायको आधा सजाय दाबी गरिएको छ। ऐनको दफा ३ को उपदफा ४ मा घूस लिने दुरुत्साहन गर्ने व्यक्ति राष्ट्रसेवक भएमा त्यही बराबर र अन्य व्यक्ति भएमा आधा सजाय हुने व्यवस्था छ।
