समाचार टिप्पणीः विरोधी मत तर्साउँदै प्रचण्ड

१४ माघ २०८०, आईतवार १२:५१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार पार्टीको नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको बताए ।

आफूलाई पालो दिने हैसियतको नेता पार्टीभित्र बनिनसकेको विश्लेषण गर्दै प्रचण्डले घुमाउरो पाराले विकल्प नखोज्न पार्टी पंक्तिलाई चुनौतीदिएका छन् । माओवादी केन्द्रले दाहाललाई असीमित समय दिँदै उनी हलचल गर्न समर्थ भईञ्जेल अध्यक्ष बनिरहने बाटो वैधानिक रुपमै खुला गरिसकेको छ।

शरीर शिथिल नभईञ्जेल राजनीतिको पकड आफ्नो नियन्त्रणमा रहने गरी विधानमै असीमित अधिकार सुरक्षित गरेका प्रचण्ड युवा पुस्तालाई ढिम्किन दिने सोचमै नभएको उनको पछिल्लो अभिव्यक्तिले प्रस्ट पारेको छ।

त्यसो त प्रचण्ड पार्टी स्थापनाकालदेखि नै निरन्तर अध्यक्ष छन् । यसरी हेर्दा उनले नेतृत्वदायी भूमिका खेलेर पार्टी चलाएको साढे तीन दशक बितिसकेको छ । तर अझैपनि उनी नेतृत्वबाट विश्राम लिने पक्षमा छैनन् ।

बरू आफ्ना विरुद्ध उठ्दै गरेको आवाजको आयतन बढ्ला भन्ने भयले चिन्तित देखिन्छन् माओवादी सुप्रिमो प्रचण्ड। शान्ति प्रक्रियाको पूर्णताको नारा अघि सारेर सत्तामा समेत आफ्नो उपस्थितिलाई अनिवार्य जस्तै बनाएका उनले पार्टीभित्रको विरोधी मत तर्साउन एक होइन अनेक तुरुप प्रस्तुत गर्दै आएका छन्। पछिल्लो अभिव्यक्तिलाई त्यसैको निरन्तरता ठान्छन् राजनीतिका पण्डितहरु।

शहीद प्रतिष्ठान नेपालको कार्यक्रममा शनिबार अध्यक्ष प्रचण्डले निशंकोच भनिदिए,‘पार्टीको नेतृत्वमा अझै आफ्नो विकल्प छैन।’ यति मात्र होइन उनले यो कुरामा आफू निष्कर्षमै पुगेको बताएपछि नेतृत्वमा पुग्ने सपना बुनिरहेका नेताहरु झस्किएका छन्।

गठबन्धन सरकारको नेतृत्वमा रहेका प्रचण्डले पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने काम अझै बाँकी रहेको र उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि आफूले वातावरण बनाइदिने आश्वासन पनि दिन पछि परेनन्।

उनले समान विचार भएका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुनआह्वान गरेर नेता कार्यकर्ताको ध्यान मोड्ने प्रयाश पनि गरे।

प्रचण्डले पार्टी नेतृत्वमाथि उदासीन हुने काम नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउँदै उनले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गराउन आफूहरुले बल गरिरहेको भनेर आफ्नो बचाउ पनि गरे।

प्रधानमन्त्री प्रचण्डले गठबन्धन सरकारको आयु लम्याउने प्रयाश पनि गरिरहेकै छन्। उनले यसका लागि प्रदेशहरुका सरकारमा पनि गठबन्धनलाई असर पुग्ने किसिमका कार्य नहुन् भनेर सन्तुलन कायम राख्ने गरी समन्वयन गरेका छन्।

कोशी प्रदेश सरकार फेरबदल हुँदा गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसभित्रका समूहहरुमै प्रवेश गरेर प्रचण्डले राजनीतिक हस्तक्षेप गर्न सफल भएका छन्।

सभापति शेर बहादुर देउवा र नेता शेखर कोइरालालाई बालुवाटार बोलाएर आफ्नो रोहबरमा चिर्कटो सम्झौता गराउन सफल भएका प्रचण्डल  त्यसपछि गठबन्धन सरकारको चुनौति शिथिल बनाउन आफू सफल भएको ठानिरहेको देखिन्छ।
यसबाट आत्मविश्वास बढेपछि प्रचण्ड अब आफ्नै पार्टीभित्र उत्पन्न हुनसक्ने चुनौति कमजोर पार्न नेतृत्वमा आफ्नो विकल्प नरहेको हाँक दिन थालेका छन्।

पछिल्लो संसदीय निर्वाचनपछि सरकारको नेतृत्व लिन प्रचण्डले गरेको दौडधुप उनको शक्तिमा रहिरहने चाहनाको एउटा उदाहरणीय स्वरुप ठान्छन् राजनीतिक विश्लेषक।

निर्वाचन सकिउञ्जेलसम्म सहकार्य गरेको दल नेपाली कांग्रेससँग सम्बन्धको धागो छिनाएर पानी बाराबारको सम्बन्ध भएको एमालेसँग हात मिलाउन पुगेका प्रचण्ड छोटो अवधिमा फेरि पुरानै सहयात्री नेपाली कांग्रेससँग अँगालो मार्न फर्किएका थिए।

प्रचण्डको चञ्चल गतिविधिलाई राजनीतिको नयाँ उदाहरण मानिएको थियो। अहिले त्यही गठबन्धन सत्ताको नेतृत्व गरिरहेको छ र दाहाल नेतृत्वमा विराजमान छन्।

जनार्दन शर्मा र वर्षमान पुन जस्ता नेता माओवादीभित्र प्रचण्डका बलिया चुनौति मानिन्छन्। यी दुबै नेता र प्रचण्डवीच वाकयुध्द पनि चल्ने गरेको देखिन्छ समय समयमा। तर कम्युनिस्ट पार्टीको संस्कार अनुसार त्यस्ता विमतिहरुलाई कार्पेटमुनि छोप्ने गरिन्छ।

जसका कारण आममानिसले सुँइको पनि पाउन सक्दैनन्। शीर्ष तहका नेताकै विमति थिचोमिचोमा परेको देखेका अरु तहका नेता राजनीतिक भविष्य जोखिममा पार्न चाहँदैनन्। त्यसैले नेतृत्वले आफूलाई सर्वसम्मत भएको देखाउने छुट पाइरहन्छ।

यस्तो कृत्रिम चरीत्रको राजनीतिक दाउपेच राष्ट्रिय राजनीतिको मूलप्रवाहमा हावी भएको देखिन्छ। पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको आसनमा बसेको राजकीय लाभ लिँदै अब दलभित्रको विरोधी स्वर दवाउन थालेका छन् भन्ने कुरा आफ्नो विकल्प नरहेको भनी दिएको अभिव्यक्तिबाट प्रस्ट हुन्छ।