सहकारी ठगीका आरोपीत जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी

१४ माघ २०८०, आईतवार ११:५१

काठमाडौं । सहकारी ठगीका आरोपीत जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ ।

सूर्यदर्शन सहकारीसँग जोडिएको ठगी सम्बन्धी मुद्दामा डिफ्यूजन नोटिस जारी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय, कास्कीले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो ।

त्यसको आधारमा इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालायलाई अनुरोध गरेको प्रहरीले बताएको छ ।

प्रहरीले सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढा मगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध पनि डिफ्यूजन नोटिस जारी गर्न सिफारिस गरेको छ । यद्यपि, इन्टरपोलमा नोटिस जारी भइसकेको छैन ।

यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भएको वा नभएको लोकेट हुनेछ, त्यसपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ । राई मलेसियामा रहेको आशंका छ । उनी त्यहाँ आएको पुष्टि भए त्यसपछि डिपोर्ट गरेर ल्याउने प्रक्रिया अघि बढ्ने एक प्रहरी अधिकृतले बताए ।