काठमाडौं । बागलुङको तमानखोला गाउँपालिकाले बागलुङ नगरपालिकामा भन्ने भनिएको नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय भवन बनाउन बजेट विनियोजन गरेको छ ।
पुस २९ गतेदेखि सुरु भएको पालिकाको हिउँदे अधिवेशनले पार्टी कार्यालय भवन बनाउन १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।
पालिकाले अर्को पालिकामा अमूक पार्टीको पार्टी कार्यालय बनाउन बजेट विनियोजन गरेपछि नेकपा माओवादीका जनप्रतिनिधिले विरोध जनाएका छन् ।
बजेट विनियोजन निर्णय फिर्ता गर्न विरोध जनाउँदै उनीहरुले बिहीबार तमानखोला गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
तमानखोला गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष छप्रसाद श्रिपालीले हिउँदे सभामा आफूहरुले असहमति राख्दा राख्दै पेलेर निर्णय गरेकाले आफूहरुले बाध्य भएर पालिकामा तालाबन्दी गर्नुपरेको बताए ।
‘पुस २९ गतेदेखि सभा सुरु भयो । त्यो दिन पनि हामीले विरोध जनायौं । तर, माघ ४ गते उहाँहरुले हामीलाई बाहिर निकालेरै निर्णय गर्नुभयो,’ उनले भने ।
आफूहरुले पार्टी कार्यालय बनाउने भए तमानखोलामै बनाउन आग्रह गर्दा पनि नमानेको दाबी गरे ।
‘यहाँ बनाउनुस्, त्यो तमानखोलाकै सम्पत्ति हुन्छ । तर, यहाँको बजेट अर्को पालिकामा पठाउने न्यायोजित हुँदैन भनेर भनेका हौं’, उनले भने, ‘तर, उहाँहरु छलफल नै गर्न चाहनुभएन ।’
श्रीपालीले आफूहरुले ‘नोट अफ डिसेन्ट’ लेख्न पाउनुपर्ने मागसहित उभिएर विरोध जनाउँदा सभाबाटै बाहिर निकालिएको दाबी गरेका छन् ।
‘बहुमतले निर्णय गर्ने भए गर्नुस् । तर, माइन्युटमा हामीलाई नोट अफ डिसेन्ट लेख्न दिनुस् भनेर विरोध जनाउँदा बैठकबाट बाहिर निकालियो । पेलेर निर्णय गरियो,’ उनले भने । वडाध्यक्ष श्रिपालीले पालिकाले उक्त निर्णय फिर्ता नगर्दासम्म आफूहरुको विरोध जारी रहने बताएका छन् ।
