काठमाडौं । वरिष्ठ गायक, संगीतकार तथा गीतकार योगेश वैद्यले ७७ बर्षको उमेरमा विहीबार राति सँधैका लागि आँखाचिम्लिए ।
नेपाली सुगम संगीतका मुर्धन्य स्रष्टा बैद्य जीवनको अन्तिम कालसम्म गीतगुनगुनाउन चाहन्थे तर एक्कासी आएको ज्वरो र रुघाका कारण उनको शरीरले विश्रामलियो ।
उनी सँधैका लागि अलप भए । तर शुभेच्छुकहरु योगेशको महाप्रस्थानपछि ‘सपनाभुलाई सारा आँसु लिएर जाउ’ गुनगुनाइर हँदा स्तब्धभएका छन् ।
किरण खरेलको शब्द र नातिकाजीको संगीतमा योगेशको पहिलो गीत ‘कति प्यासी छ जिन्दगी..’ रेकर्ड गराएपछि उनी सांगीतिक क्षेत्रमा उदाएका थिए । त्यसपछि उनले एउटा नेवारी गीत पनि गाए, ‘जीवन जिगु…’ ।
सरकारी जागिरे जीवनसँगै गीत संगीतको भीडमा अलग्गै पहिचान बनाएका योगेशले २०४४ सालमै गाएको गीत ‘सपनाभुलाई सारा’ साँच्चै कालजयी मानिन्छ ।जसका कारण उनी सांगीतिक आकाशमा भिन्नै पहिचान बनाउन सफल भए ।
साहित्यकार उषा शेरचन ‘सपनाभुलाइ सारा’ सुनेर कहिल्यै नअघाउने कालजयी गीत भएको प्रतिक्रिया दिन्छिन् । आरआर क्याम्पसमा योगेशकी बहिनीसँगै पढेको जानकारी दिंदै शेरचनले सामाजिक संजालमा लेख्छिन्,‘ उहाँको निधन भएको अपत्यारिलो खबर पढेर झस्किएँ पनि र विश्वास गर्न गाह्रो पनि गाह्रो भयो ।
हुन त उहाँ शारीरिक हिसाबले बिसन्चो भएको त धेरै भइसकेको थियो । तर मानसिक हिसाबले भने तन्दुरुस्त हुनुहुन्थ्यो र सामाजिक सञ्जाल फेसबुकमा पनि निकै सक्रिय हुनुभएको कारणले पत्याउन गाह्रो पर्यो मलाई ।’
२०७७ सालको फागुनमा देब्रे खुट्टाको अप्रेसन गर्नुपर्दा करिब तीन महिना अस्पताल बसेका योगेश पछिल्लो समय स्टुडियोमा पुगेर गीतगाउन सक्ने अवस्थामा थिएनन् । तर संगीत भर्न र गीत लेख्न भने व्यस्त थिए । नेपालमा कोरोनाको महामारी देखिनुअघि एउटा गीतिसंग्रह समेत बजारमा ल्याएका गायक वैद्य आफ्नो स्वरमा अर्को गीतिसंग्रह ल्याउने योजना भने अधुरै रहयो ।
गीतकार भुपेन्द्र खड्का योगेशलाई मार्मिक रुपमा स्मरण गर्दै लेख्छन्, ‘७६ वर्षको उमेरमा पनि खल्तीबाट काइँयो निकालेर कपाल कोर्ने दाइ पाउने छैन । राजसी शैलीमा बाँच्नुपर्छ भन्ने प्रेरणा पाउने छैन । त्यो फरक र मखमलीआवाजको सम्बोधन सुन्न पाउने छैन । तर हृदयको नादबाट गुन्जिएका ती गीतहरूले मलाई भुल्नदिने छैनन् । सपना भुलाई सारा, आँखैमा रात गली, नेपाल मेरो । अलविदा योगेश वैद्य दाइ !’
हुन त योगेश पढाइमा पनि उस्तै निपूर्ण थिए । त्रिभुवन विश्वविद्यालयबाट वनस्पतिशास्त्रमा र गेन्ट स्टेट विश्वविद्यालय बेल्जियमबाट खाद्य तथा पोषणमा स्नातकोत्तर गरेका थिए । वैद्यले तीन दशक भन्दा बढी सहसचिव स्तरको प्राविधिक सरकारी सेवामा रहेर काम गर्दा पनि नेपाली गीत संगीतलाई निरन्तरता दिएका थिए ।
लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित योगेश पछिल्लो समय क्रमशःथलिदै गएका थिए । बाहिर हिडडुल गर्न र कार्यक्रममा सहभागी हुन सकिरहेका थिएनन् । तर संगीत साधना र समर्पण ताजा थियो । संगीतमा पृथक उचाइ थियो उनको ।
करिब पाँच सय नेपाली गीत तथा झन्डै एक सयभन्दा बढी नेपाल भाषाको गीतमा स्वर दिएका उनी पछिल्लो समय पक्षघात सम्बन्धी समस्या समेत झेलिरहेका थिए ।
२०२५ सालमा किरण खरेलको शब्द र नातिकाजीको संगीतमा ‘कति प्यासी छ जिन्दगी’गीत गाएपछि विस्तारै चर्चा कमाएका योगेशले मवीविशाहले लेखेको ‘नेपाल मेरो तिमीलाई उपहार भो’ गीत २०२७ सालमा रेकर्ड गराएका थिए ।
तर ०४५ सालमा गाएको ‘सपना भुलाइ सारा’ बहुचर्चित बन्यो । गीतकार महेशआचार्यले उही शब्दहरु संजालमा पोष्ट गरे । गायक प्रमोद खरेल लेख्छन्,‘नेपाली संगीत क्षेत्रमा एकपछि अर्को वियोगको घटनाले दुःखी बनायो । ‘सपना भुलाइ सारा ऑशु पिएर जाउ । मन्दिरमा छ तिम्रो तस्वीर लिएर जाउ ।’ त्यसैले त शरीर चितामा जल्दै गर्दा पनि धेरै शुभेच्छुकहरुले गुनगुनाइरहे ‘सपनाभुलाइ सारा….।’
