सन्तोष सेनको ‘बलिदान’मा जोडिए गायक सुजन चापागाईं

५ माघ २०८०, शुक्रबार ११:३९

काठमाडौं । पछिल्लो समय निकै रुचाइएका गायक सुजन चापागाईंले चलचित्र बलिदानमा काम गर्ने भएका छन् ।

लोकप्रिय गायक चापागाईं उनको साङ्गीतिक संस्था आर्टमान्डुका टिमका सदस्यद्वय गीतकार हर्क साउद र निर्देशक नवीन चौहानले पनि चलचित्र बलिदानमा गीत संगीतको पाटो सम्हाल्ने गरी सम्झौता भएको छ ।

सुजनले गाएका तीन पाते, फूलथुंगे रानी,लजाए,गाला पुक्क,घुमी घुमीमिलेको जीउ छिनेको कम्मर,बाफलगायतका दर्जन गीतले निकै रुचाइएकोमा पर्छन ।

बलिदान चलचित्रका गीत तथा ब्याकराउण्ड म्युजिकमा यो टिमले नेतृत्व गरी काम गर्नेछ । हर्कले गीत रचना गर्नेछन्, सुजनले गीतमा संगीत तथा स्वर र ब्याकराउण्ड म्युजिक तयार गर्नेछन् भने नवीनले टिम व्यवस्थापन गर्नेछन् ।

यसअघि सुजनले केही चलचित्रको लागि फुटकर गीतहरूमा आवाज दिएतापनि पहिलो पटक सबै जिम्मेवारी लिएर चलचित्रमा गीत गाउनका लागि आबद्ध भएका हुन् ।

दर्शक तथा श्रोताका लोकप्रिय गायक तथा संगीतकारलाई चलचित्रमा आबद्ध गराउन निर्माता तथा निर्देशक सन्तोष सेनले लामो समयदेखि छलफल गरिरहेका थिए । टिमको आबद्धतासँगै हाल गीत संगीतको विषयमा कार्यशाला भइरहेको छ ।

निर्देशक सेनले चलचित्रको कथा र मर्म अनुसारका गीत उत्पादन गर्नको लागि केही दिन छलफलमा रहने जानकारी दिए ।
सन्तोषको मेघा प्रोजेक्टको रूपमा रहेको चलचित्र बलिदानको टिजर छांयाकन अगावै रिलिज भैसकेको छ ।

आसुसेन फिल्म्सको ब्यानरमा बन्न लागेको यस चलचित्रमा कलाकारहरूको विषयमा भने हालसम्म केही खुलासा गरिएको छैन । देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताएका छन् ।