धारामा मेलम्चीको पानी नआए तत्काल सम्पर्क गर्न अनुरोध

३ माघ २०८०, बुधबार १४:३९

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनःवितरण सुरु गरेको दुई दिनपछि खानेपानी मन्त्रालयले पानी नआए तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पुनःवितरणको शुभारम्भ गरेका थिए ।

मन्त्रालयले एक सूचना जारी गर्दै पानी नआएको खण्डमा सम्पर्क गर्न विभिन्न सम्पर्क नम्बरहरु उपलब्ध समेत गराएको छ । मन्त्रालयले मेलम्चीको खानेपानीधारा जडान नभएमा या जडान भएका धारामा पानी नआएमा तोकिएका टेलिफोन नम्बरमा सम्पर्क गर्न आग्रह गरेको हो ।

मेलम्ची खानेपानी वितरण सम्बन्धी समस्या समाधान गर्न सरकारले सहजीकरण समिति गठन गरेको जनाएको छ । बाढी तथा पहिराका कारण अवरुद्ध भएको मेलम्चीको पानी पुनः काठमाडौं ल्याइएको हो ।

गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति भएको थियो । विसं २०७८ असार १ गते मेलम्चीखोलामा आएको बाढी पहिरोपछि आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त बनेको थियो ।