मेलम्चीको पानी आजदेखि उपभोक्ताको धारामा

१ माघ २०८०, सोमबार ०९:२२

काठमाडौं । सात महिनादेखि अवरुद्ध रहेको मेलम्चीको पानी आजदेखि काठमाडौं उपत्यकावासीको धारामा पुग्दैछ ।

वर्षाले क्षति पुगेको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी सुरुङमा पानी पथान्तरण गरिसकिएको छ भने अहिले विहानदेखि पानी उपभोक्ताको धारामा खस्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार विहान सिंहदरबारको धारामा पानी खोलेर पानी वितरणको शुभारम्भ गर्दैछन् ।

प्रधानमन्त्री दाहालले पानी वितरणको शुभारम्भ गरेपछि उपभोक्ताको घरघरमा मेलम्चीको पानी खस्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

समितिका अनुसार पहिलो दिन अनामनगर र मिनभवन केन्द्रबाट पानी वितरण सुरु हुनेछ । त्यसपछि क्रमशः खुमलटार, महाँकाल चौर, कीर्तिपुर, बोडे, कटुन्जे, बालाजु, बाँसबारी केन्द्रबाट पनि पानी वितरण सुरु गरिने आयोजनाले जनाएको छ ।

बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मेलम्ची खानेपानीको आपूर्ति रोकिएको थियो । मेलम्चीको पानी आउन छाडेपछि उपत्यकामा खानेपानीको समस्या चर्किएको थियो ।

आयोजना निर्माण सुरु भएको २२ वर्षपछि अर्थात् २०७७ फागुन २२ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लोसिङ टनेलको हाइड्रोमेकानिकल गेटको बटन थिचेर मेलम्चीको सुन्दरीजलमा मेलम्चीको पानी प्रवाहको उद्घाटन गरेका थिए ।

त्यसपछि वर्षेनि बर्षाले सुरुङमा क्षति पु¥याउँछ, सरकारले वर्षेनि मर्मतसम्भारमै करोडौँ रुपैयाँ खर्च गर्दै आएको छ ।