औषधि उत्पादनको कामले निरन्तरता पाउनुपर्छ : प्रधानमन्त्री दाहाल

२९ पुष २०८०, आईतवार १५:४९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल औषधि लिमिटेडलाई तत्काल २० प्रकारका औषधि उत्पादनको काम पुनःथाल्न निर्देशन दिएका छन् ।

आइतबार दिउँसो नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई सिंहदरबार बोलाएर प्रधानमन्त्रीले औषधि उत्पादन थाल्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्रीले विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको र पछिल्लोसमय त्यसमा अबरोध देखिएको भन्दै नयाँ ढंगले काम अगाडि बढाउर्नेमा पर्नेमा जोड दिएर आवश्यक सहयोगका लागि सरकार तयार रहेको बताए ।

“विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको थियो। बीचमा चाहिँ “अपडाउन” भएको मैले बुझें। औषधि उत्पादनको कामलाई नयाँ ढंगले गति दिनुपर्छ भनेर नै मैले यो बैठक बोलाएको हुँ। तपाईंहरूले काम सुरू गर्नुस्। सरकारको तर्फबाट जे–जस्तो सहयोग गर्नुपर्छ, त्यो काम म गर्छु” प्रधानमन्त्री सचिवालयले उल्लेख गरेको छ।

प्रधानमन्त्रीले अहिले २० वटा औषधि उत्पादनबाट काम सुरू गरेर भविष्यमा त्यसको गुण र मात्रा दुबै बढाउनुपर्नेमा जोड दिए ।

दाहालले भने,“देश आत्मनिर्भर बन्ने एउटा राम्रो क्षेत्र यो पनि हो। सबै कुरा एकैपटक नहोला। तपाईंहरू काम सुरू गर्नुस्। मैले पनि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयसँग थप छलफल गर्छु। यस क्षेत्रमा देखिने गरी काम गरौं।”

छलफलमा लिमिटेडका अध्यक्ष न्यौपानेले लिमिटेडले १० प्रकारका औषधिहरू उत्पादन गरिरहेको र तत्काल २० प्रकारका औषधि उत्पादनका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी प्रधानमन्त्री दाहाललाई गराए ।

न्यौपानेले लिमिटेडले भुक्तानी गर्नुपर्ने पूर्ववत दायित्वका कारण काम प्रभावकारी हुन नसकेको बताउँदै केही प्राविधिक जनशक्तिको व्यवस्था, मेसिनहरूको गुणस्तर वृद्धि र केही नयाँ मेसिनहरूको खरिद गरी उत्पादनको कामलाई व्यवस्थित तुल्याइने बताए ।