के तपाईको पनि यी बानी छ ? छ भने सुधारनुस् नत्र छिट्टै मृत्युको मुखमा पुर्‍याउछ

२९ पुष २०८०, आईतवार १३:४१

काठमाडौं। मानिसहरू लामो समय बाँच्न चाहन्छन् । तर आफ्नो नराम्रो बानीलाई चाहिँ कसैले पनि छाड्न चाहँदैनन् । हाम्रा कयौँ खराब बानी हुन्छन् । आफ्नो बानी खतरनाक हो भन्ने जान्दा जान्दै पनि त्यस्ता बानी छाड्ने प्रयास भने कमैले मात्र गर्छन् । फलतः मान्छे बुढ्यौली लाग्नु अघि नै बुढो देखिन थाल्छ । कयौँले त भयङ्कर रोगको चपेटामा आएर कम उमेरमै ज्यान गुमाउँछन् । आज हामी रोगको घरको रूपमा रहेका यस्तै केही आनीबानीबारे कुराकानी गर्न गइरहेका छौँ । जसलाई त्याग्नु सबैका लागि राम्रो हुन्छ ।

कम सुत्ने

यो स्मार्टफोन र इन्टरनेटको जमाना हो । मान्छेको हातमा जति बेला पनि स्मार्टफोन झुन्डिरहेको हुन्छ । स्मार्टफोनको बढ्दो प्रयोगले समयमा सुत्ने, समयमा उठ्ने हाम्रो बानी प्रभावित भइरहेको छ । हामी न त समयमा सुत्न सक्छौँ, न त उठ्न । सुरु सुरुमा कम निद्राको असर शरीरमा कमै देखिन्छ । तर जति समय बित्दै जान्छ त्यति नै यसको असर देखिन थाल्छ । हाम्रो शरीरलाई पनि आराम चाहिन्छ । हामी निदाएको बेलामा शरीर मेन्टेनेन्स मोडमा जान्छ । कम निदाउनेहरूमा अनेकौँ स्वास्थ्य समस्या देखिन थाल्छ ।

प्रोसेस्ड फूडको सेवन

तन्दुरुस्त रहने हो भने भोजनमा केमिकल रहित अनि प्राकृतिक वस्तु सामेल गर्नु पर्छ । हिजोआज बजारमा पाइने खानेकुराहरू प्रशोधित अनि केमिकल युक्त हुन्छन् । यी खानेकुराले शरीरलाई निकै क्षति पुर्‍याउँछन् । तपाई पनि सधैँ जवान देखिन चाहनु हुन्छ भने स्वस्थ भोजन गर्नुस् । आहारमा सधैँ ताजा फलफूल तरकारी समावेश गर्नुस् । सकेसम्म धेरै मासु नखानुस् । धेरै चिल्लो, तारेको, पोलेको खानेकुरा पनि कम खानुस् ।

शारीरिक व्यायाम नगर्नु

अल्छी मानेर तपाई शारीरिक गतिविधिहरू, व्यायाम कम गर्नु हुन्छ भने यो स्वास्थ्यको लागि विल्कुल ठीक होइन । दिनहुँ शारीरिक व्यायाम गर्ने मान्छेहरू कयौँ खालका गम्भीर रोगबाट बचिरहन्छन् । आफूलाई तन्दुरुस्त राख्न मानसिक स्वास्थ्य पनि फिट हुनु पर्छ । त्यसैले सधैँ व्यायाम र योगा ध्यान गर्ने बानी बसाल्नुस् ।

रक्सी र चुरोटको सेवन

अचेल रक्सी र चुरोटको सेवन सामान्य कुरा बनिसकेको छ । तर यो हाम्रो स्वास्थ्यका लागि निकै खतरनाक छ । यो बानीले हामीलाई बुढ्यौली अगाडि नै बुढो बनाइदिन्छ । रक्सी र चुरोटको धेरै सेवन गर्ने मान्छे छिट्टै मृत्युको मुखमा पुग्छन् ।