सर्लाहीको बरहथवामा आज बिहान ८ बजेदेखि भोलि बिहान ९ बजेसम्म निषेधाज्ञा जारी

२१ पुष २०८०, शनिबार ०९:१४

काठमाडौं । सर्लाहीको बरहथवामा कर्फ्यु हटाएर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

बरहथवा नगरपालिकाको अस्पताल स्तरोन्नतिको विषयलाई लिएर शुक्रबार भएको झडपमा एक जनाको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले आज बिहान ८ बजे सम्मका लागि नगरक्षेत्रको चार किल्ला तोकेर कर्फ्यु जारी गरेका थिए।

शनिबार सूचना जारी गर्दै सम्भावित जोखिम नटरेको उल्लेख गर्दै प्रशासनले आज बिहान ८ बजेदेखि भोलि बिहान ९ बजेसम्मका लागि सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।

त्यस अवधिमा सो क्षेत्रमा कुनैपनि किसिमका भेला, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न रोक लगाइएको प्रजिअ धमलाले जानकारी दिए।

कर्फ्यु हटेपछि पनि स्थिति सामान्य बन्ने नदेखिएपछि निषेधाज्ञा जारी गरिएको प्रजिअ धमलाले सेतोपाटीसँग बताए।

उनका अनुसार पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोतिरचोर्निया पुलसम्म निषेधाज्ञा जारी गरिएको छ।

निषेधाज्ञा उल्लंघन गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गरिने सूचनामा उल्लेख छ।

नगर अस्पतालको विषयलाई लिएर शुक्रबार दुई पक्षबीच झडप हुँदा बरहथवामा शुक्रबार गोली समेत चलेको थियो।

गोली लागेर बरहथा नगरपालिका(६ का २७ वर्षीय जयशंकर शाहको मृत्यु भएको थियो।

शुक्रबार प्रहरीलाई गोली चलाउने आदेश नभएको प्रजिअ धमलाले बताए।

त्यसबारेमा अहिले छलफल भएको र घटनाको छानबिनका लागि समिति बनाउने तयारी भइरहेको उनले बताए।

‘आन्दोलन गर्ने पक्ष र जसका विरूद्ध आन्दोलन भएको हो त्यो पक्षलाई पनि बोलाएर छलफल गर्ने तयारी भइरहेको छ। अहिले सुरक्षाकर्मीहरूसँग छलफल गरिरहेका छौं,’ उनले भने।