पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न भैरहवा पुगे राप्रपाका शीर्ष नेताहरू

१८ पुष २०८०, बुधबार १५:४७

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका शीर्ष नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भैरहवामा पुगेर भेटका छन् ।

हाल भैरहवामै बसिरहेका पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न आजै काठमाडौंबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ महामन्त्री डा.धवलशमशेर राणा र सांसद दीपक सिंह भैरहवा गएका थिए ।

उनीहरूले आज भैरहवामा पूर्वराजा ज्ञानेन्द्रसँग सामूहिक भेट गरेका हुन् । भेटका क्रममा पूर्वराजा ज्ञानेन्द्रले आफ्ना लागि सबै नेपाली बराबर रहेको बताएको उपाध्यक्ष मिश्रले बताएका छन् ।

मिश्रका अनुसार ज्ञानेन्द्रले भनेका छन्, ‘हामी सबैले धेरै देख्यौ बुझ्यौँ, म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु । मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो । सबै नेपाली मेरो लागि बराबर छन् ।’