मकवानपुरमा शनिबार एकजना पुरुषको शव फेला

८ पुष २०८०, आईतवार ११:३४

काठमाडौं, ८ पुष । मकवानपुरको बकैया गाउँपालिकामा शनिबार एकजना पुरुषको शव फेला परेको छ । बकैया गाउँपालिका– २ मा रहेको सरस्वती सामुदायिक वनमा पहिचान खुल्न नसकेको पुरुषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार सामुदायिक वनको बतासेडाँडास्थित भिरबाट करिब तीन सय मिटर तल अन्दाजी ६० वर्षीय पुरुष व्यक्तिको शव फेला परेको छ ।

२ नम्बर वडाध्यक्षले शनिबार साँझ खबर गरेपछि इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीलले गएराति सवा ११ बजे शव फेला पारेको हो । शव सडेगलेको अवस्थामा रहेकाले पहिचान हुन नसकेको प्रवक्ता भण्डारीले जानकारी दिए ।

अहिले शवलाई हेटौँडा अस्पतालमा राखिएको र आइतबार पोस्टमार्टम गरिने प्रवक्ता भण्डारीको भनाइ छ । उनले घटनाबारे थप अनुसन्धान थालिएको जानकारी दिए ।