काठमाडौं, ८ पुष । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा क्यान्सर उपचारको आधुनिक प्रविधि टोमोथेरापी सेवा सुरु भएको छ।
अस्पतालले एक सातादेखि टोमोथेरापी सेवा सञ्चालनमा ल्याएको हो। टोमोथेरापी क्यान्सर उपचारको परम्परागत रेडियोथेरापी भन्दा आधुनिक प्रविधि हो।
अस्पतालले भारतबाट आएका अनुभवी प्रविधिज्ञ टोलीको समन्वयमा सेवा सुरु गरेको हो। टोमोथेरापी सेवाको औपचारिक उद्घाटन भने केही समयपछि मात्र गर्ने तयारी भएको न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए।
मेसिन जडान लगायका प्राविधिक काम सकिएपछि मेसिन सञ्चालनमा ल्याइएको हो। क्यान्सर बिरामीका लागि अत्याधुनिक उपचार सेवा प्रदान गर्न यो उपकरण ल्याइएको हो । अब क्यान्सरका बिरामीले सहज रुपमा सेवा पाउने छन्। गरिब बिरामीले यो सेवा निः शुल्क पाउने समेत उनले बताएका छन् ।
क्यान्सर रोग विशेषज्ञहरुका अनुसार टोमोथेरापीमा विकीरण (रेडिएसन) का माध्यमबाट त्रीआयामिक रुपमा क्यान्सरग्रस्त कोषको उपचार गरिन्छ। हरेकपटक रेडियोथेरापी गर्नुअघि ‘कम्प्युटेड टोमोग्राफी’ (सिटी) स्क्यानरले रौं बराबर पनि फरक नपर्ने गरी ठ्याक्कै क्यान्सरग्रस्त कोषमा रेडिएसन दिनुका साथै ट्युमरमा हुने परिवर्तन अनुगमन गरी त्यसै अनुरुप रेडिएसन सुनिश्चित गर्छ।
वीर अस्पतालमा यसअघि नै उक्त मेसिन सञ्चालनमा ल्याउने तयारी भएको थियो। अस्पतालमा उक्त मेसिन जडानका लागि स्थान नहुँदा खरिद गरेर ल्याइएको मेसिन लामो समय सशस्त्र प्रहरी बल अस्पतालको चौरमा कन्टेनर भित्र नै थन्किएको थियो। लामो समय चौरमा थन्किएको मेसिनमा कन्टेनरबाट पानी चुहिँदा बिग्रिएको थियो।
मेसिन खोल्दै नखोली बिग्रिएपछि अस्पतालले उक्त मेसिनको सट्टा अर्को मेसिन पठाउन कम्पनीलाई आग्रह गरेको थियो। सोही अनुसार कम्पनीले वीर अस्पतालमा उक्त बिग्रिएको उपकरण फिर्ता लगेर नयाँ मेसिन ल्याइदिएको हो। मेसिन सप्लायर्स कम्पनी लाइफलाइन ट्रेड इन्टरनेसनल प्रालीले नयाँ मेसिन ल्याएर जडान गरिदिएको हो।
टोमोबाट वीरले सेवा दिन थाल्ने बित्तिकै दिनमा ६० जनाले सेवा पाउने छन्। त्यो पनि केहीलाई निःशुल्क र अन्यलाई न्यूनतम शुल्कमा। टोमोथेरापीको शुल्क कति तोक्ने भन्ने विषयमा भने अस्पतालले छलफल गरिरहेको छ। नेपालका निजी सेवा प्रदायकले टोमोभन्दा एक स्तर कम मानिने लिनियाक रेडिएसन मेसिनबाट सेवा दिएको डेढ लाख रुपैयाँसम्म लिने गरेका छन्। टोमोबाट गुणस्तरीय सेवा सस्तोमा पाउने भएकाले क्यान्सरका बिरामी वीरमा केन्द्रित हुने देखिन्छ।
के हो टोमोथेरापी ?
सन् २००२ देखि प्रयोगमा आएको टोमोथेरापी क्यान्सर उपचारको परम्परागत रेडियोथेरापीभन्दा आधुनिक प्रविधि हो। टोमोथेरापीमा विकीरण ९रेडिएसन० का माध्यमबाट त्रीआयामिक रुपमा क्यान्सरग्रस्त कोषको उपचार गरिन्छ। हरेकपटक रेडियोथेरापी गर्नुअघि ‘कम्प्युटेड टोमोग्राफी’ ९सिटी० स्क्यानरले रौं बराबर पनि फरक नपर्ने गरी ठ्याक्कै क्यान्सरग्रस्त कोषमा रेडिएसन दिनुका साथै ट्युमरमा हुने परिवर्तन अनुगमन गरी त्यसै अनुरुप रेडिएसन सुनिश्चित गर्छ।
टोमोथेरापीले क्यान्सरग्रस्त कोषमा मात्रै रेडिएसन दिने भएकाले क्यान्सर भएको भागको वरिपरिका स्वस्थ कोषमा रेडिएसनको प्रभाव पर्दैन। त्यसैले रेडियोथेरापीको तुलनामा टोमोथेरापीबाट उपचार गर्दा रेडिएसनको साइड इफेक्ट न्यून हुने चिकित्कसहरु बताउँछन्। सिटी स्क्यान जस्तै टोमोथेरापी उपकरण चौडा, खुला र गोलाकार भएकाले बिरामीले सजिलोसँग सुतेर उपचार गर्न सक्छन्।
टोमोथेरापीमा ३६० डिग्रीबाट बिरामीको शरीरमा जहाँसुकै पनि सहज उपचार गर्न सकिन्छ। टोमोले हजारौं ससाना रेडिएसन प्रयोग गर्ने हुँदा जति मात्रा आवश्यक छ त्यति मात्र र जस्तोसुकै कोणबाट पनि रेडिएसन दिएर उपचार गर्न सम्भव बनाउँछ।
टोमोथेरापीबाट रेडिएसन अंकोलोजिस्टहरूले धेरै प्रकारका क्यान्सर (सामान्य क्यान्सरदेखि जटिल क्यान्सरसम्म) को सहज र सफल उपचार गर्न सक्छन्। टोमोथेरापी मस्तिष्क क्यान्सर र सामान्य ब्रेन ट्युमर, टाउको, घाँटी र मुखको क्यान्सर, ब्रेस्ट क्यान्सर (दुख्ने र सुन्निने ब्रेस्ट क्यान्सर समेत), फोक्सोको क्यान्सर, छालामा हुने क्यान्सरहरू, प्रोस्टेट क्यान्सर (सुरु अवस्थादेखि पूर्ण विकसित अवस्थासम्म), भोजन नली र पाचन प्रणालीका क्यान्सर, सर्भाइकल, ओभ्यारियन, भेजिनल तथा भल्भ र गर्भासय क्यान्सर, कोलोन, पेट, रेक्टल र एनल क्यान्सर, कलेजो र फियो क्यान्सर, शरीरका विभिन्न ठाउँमा भएका विस्तारित क्यान्सर, प्रत्यारोपणअघि गरिने रगतसम्बन्धी रोगको उपचार (जस्तैः ल्युकेमिया) लगायतको उपचारमा प्रयोग गर्न सकिन्छ।
