नारायणगढ–मुग्लिन सडक खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने

७ पुष २०८०, शनिबार ०८:५९

काठमाडौं, ७ पुष । नारायणगढ–मुग्लिन सडक खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पुल बनाउन सडकको भित्तो काट्न सुरु गर्ने भएकाले आज बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ ।
जसका कारण सो सडकखण्ड प्रयोग गर्ने चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन बाटोमै रोकिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।

उनका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्र किलो बजारदेखि जुगेडीसम्म बिहान १०ः४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः३० बजेसम्म मात्र सञ्चालन हुनेछ ।

काठमाडौंबाट आउने यात्रुवाहक सवारी भने मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान १०ः५५ सम्म तथा मालवाहक सवारी सधान १०ः४५ सम्म मात्र चलाउन दिइने छ ।

यस्तै, पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधनबिहान १०ः५५ बजेदेखि बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधन बिहान १०ः४५ बजेदेखि सत्रसय फाँटमा रोकिने छ ।

पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिने छ । साठी मिटर अग्लो उक्त पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर सडक अब काट्न लागिएको हो ।

दैनिक १० हजारभन्दा बढी सवारी साधन गुड्ने उक्त सडकमादैनिक चार घण्टा सवारी साधन रोकिने भएकालेवैकल्पिक बाटो प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ ।