सातौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीलाई ४ स्वर्णसहित ११ पदक

५ पुष २०८०, बिहीबार ०८:२९

काठमाडौं, ५ पुष । भारतको देहरादुनमा भएको सातौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ स्वर्णसहित ११ पदक जितेका छन् ।

टोलीका व्यवस्थापक समेत रहेका स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीले नेपाली खेलाडीले ४ स्वर्णका अलावा थप ३ रजत र ४ काँस्य पनि जितेको जनाएका छन् ।

पुरुष ४५ केजीमुनि वृजेश रायमाझी, ३२ केजीमुनि रघुनाथ भण्डारी, ५० केजीमुनि सोफिक बराइली र ४५ केजीमुनि सुजित कार्कीले स्वर्ण जिते ।

आभास डिओले पुरुष ३२ केजीमुनि र एकल पुम्सेमा गरी दुई रजत जिते भने ३७ केजीमुनि सोहन तामाङले रजत हात पारे ।

पुरुष ४१ केजीमुनि क्षितिज घले, ५५ केजीमुनि अशिम घिमिरे, ३५ केजीमुनि दिप्सन थापा र एकल पुम्सेमा वृजेश रायमाझीले काँस्य पदक प्राप्त गरे ।

टोलीको प्रशिक्षकमा रन्जितबहादुर डगौरा छन् । सबै खेलाडी एसकेबीसी तेक्वान्दो डोजाङका हुन् । प्रतियोगितामा सहभागी भएर नेपाली टोली स्वदेश फर्किसकेको छ ।