काठमाडौं, ३ पुष । नबिल बैंकको ३० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ।
बैंकले मंसिर २९ गते देखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन बिक्री खुला गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो । त्यसमध्येमा १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बाँकी १२ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।
नबिलले ७ वर्ष अवधिको ‘९५ नबिल डिबेन्चर २०८७’ जारी गरेको हो । यसमा वार्षिक ९प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ।
यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गर्नेछ। न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सकिनेछ ।
