सरकारी निकायमा दोभाषे राख्छौंः मुख्यमन्त्री कार्की

२ पुष २०८०, सोमबार १२:१०

काठमाडौं, २ पुष । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताल लगायत सरकारी कार्यालयहरुमा कार्यविधि बनाएर दोभाषे राख्ने बताएका छन् ।

राष्ट्रिय बहिरा महासंघ नेपाल, कोशीले मुख्यमन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाएपछि उनले दोभाषे राख्ने प्रतिबद्धता जनाएका हुन् । प्रदेश सरकार मातहतका अस्पतालहरुमा राखेका दोभाषेलाई जिल्ला बहिरा संघ मातहत ल्याउन माग गरेपछि मुख्यमन्त्री कार्कीले कार्यविधिबनाएर प्रदेश मातहतका सरकारी कार्यालय लगायत प्रत्येक साार्वजनिक कार्यक्रममा दोभाषे राख्ने व्यवस्था गर्ने बताएका हुन् ।

त्यस्तै उनले प्रतिस्थापन विधेयक मार्फत आएको बजेटमा बहिरा समुदायका लागि बजेट व्यवस्थापन गरेको बताए । मुख्यमन्त्री कार्कीले दोभाषेहरुको पेशागत सीप विकासका लागि सरकाले काम गर्ने उल्लेख गर्दै नीति नियम बनाउँदा महासंघलाई सहभागिता गराउने कुरामा सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।