३८ खर्ब रेमिट्यान्स हरायो

१ पुष २०८०, आईतवार १५:२६

काठमाडौं, १ पुष । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले वैदेशिक रोजगारीमा गएकाहरुबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हराइरहेको बताएको छ ।

आइतबार अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस, २०८० को अवसरमा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो ।

जिफन्टले आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २०७८/०७९ मा २७७ प्रतिशत र २०७९/०८० मा ३ सय प्रतिशतभन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा गएको बताएको छ । आ।व। २०७७/०७८ मा ४२।२४ प्रतिशत र आ।व। २०७८/०७९ मा ४६.३२ प्रतिशत दक्ष श्रमिक विदेश गएकोमा २०७९/०८० मा ६६ प्रतिशत दक्ष श्रमिक विदेश गएको बताएको छ । आ।व। २०७७/०७८ को तुलनामा (१ लाख ६६ हजार ६९८ जना बिदेसिँदा ल्याएको ९ खर्ब ६१ अर्ब ५ करोड रेमिट्यान्स) को अनुपातमा आ.व.२०७९/०८० मा वृद्धि भएको विदेशिनेको संख्या (अहिले ७ लाख ७१ हजार ३२७) जनाको अनुपातको आम्दानीको आधारमा नेपालमा रेमिट्यान्स ४४ खर्ब ४८ अर्ब वार्षिक रुपमा भित्रिनुपर्ने दाबी जिफन्टको छ ।

अदक्ष श्रमिकको तुलनामा दक्ष श्रमिक विदेशिनेको संख्या १५ प्रतिशतले बढी हुन्छ भन्ने मान्दा पनि कम्तीमा ७ खर्ब रेमिट्यान्स थप भई कुल ५० खर्बभन्दा बढी हुने रेमिट्यान्स भित्रिनुपर्ने जिफन्टका महासचिव लक्ष्मण शर्माले बताए । उनले अहिले केवल १२ खर्ब मात्र नेपालमा रेमिट्यान्स आएको देखिएकाले वार्षिक ३८ खर्ब रेमिट्यान्स हराइरहेको दाबी गर्दै यसबारेमा अध्ययन गर्न आवश्यक रहेको बताए ।

उनले वैदेशिक रोजगारमा गएर श्रमिकहरुले कमाएको नेपालमा आउनुपर्ने रकम नेपालमा किन आएन भन्ने प्रश्न गरे ।