पहिलो पाँच महिनामा भन्सार राजस्व करिब ६ प्रतिशतले बढ्यो

१ पुष २०८०, आईतवार १४:४०

काठमाडौं, १ पुष । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा भन्सार राजस्व करिब ६ प्रतिशतले बढेको छ।

भन्सार विभागका अनुसार यो अवधिमा एक खर्ब ६६ अर्ब ७५ करोड रूपैयाँको राजस्व उठाएको छ। आर्थिक वर्ष २०७९र८० को पहिलो पाँच महिनामा एक खर्ब ५७ अर्ब ५७ करोड भन्सार राजस्व उठेको थियो।

गत वर्षको मंसिर महिनामा मात्रै उठेको राजस्वको तुलनामा यो वर्ष १९ प्रतिशतले बढेको छ। २०७९ मंसिर महिनामा २८ अर्ब ६६ करोडको यस्तो राजस्व उठेकोमा चालु वर्षमा ३४ अर्ब १७ करोड पुगेको छ। यस हिसाबले आयातमा बढोत्तरी भएको देखिएको छ।

सरकारको लक्ष्यको तुलनामा भने ४४ प्रतिशत कम भन्सार राजस्व उठेको छ। मंसिर महिनामा दुई खर्ब ५१ अर्ब ७२ करोड रूपैयाँको भन्सार राजस्व उठाउने लक्ष्य राखिएको थियो।