के मेयर बालेन र हर्कले नयाँ पार्टी खोल्न त ?

१ पुष २०८०, आईतवार १४:२६

काठमाडौं, १ पुष । पुराना राजनीतिक दलको चरित्रले जनतामा व्यवस्थाप्रति नै आक्रोश चुलिएको छ ।

जनता विकल्पको खोजीमा लागेका छन् । स्वतन्त्र उम्मेदवारीबाट चुनाव जितेका मेयरद्वय बालेन्द्र बालेन शाह काठमाडौँ र हर्क साम्पाङ धरान मिलेर नयाँ राजनीतिक दल गठन गर्न लागेको चर्चा सुरु भएको छ।

गत बिहीबार काठमाडौँ महानगरका मेयर शाहसँग भेट गरेपछि मेयर साम्पाङले दिएका अभिव्यक्तिले उनीहरू पार्टी खोल्ने तयारीमा लागेको संकेत दिएका हुन्।

स्वतन्त्र लौरो चिह्नमा चुनाव लडेर स्थानीय सरकारको नेतृत्वमा पुगेका शाह र साम्पाङबीच बिहीबार बिहान काठमाडौँमा एक घण्टा छलफल भएको थियो।

उक्त भेटपछि साम्पाङले फेसबुकमा तस्बिर राख्दै लेखे, ‘जित हुन्छ क्रान्तिको शंकै नमान हामी झन् विशाल बन्छौँ धन्दै नमान ।’ त्यसपछि साम्पाङले अर्को स्टाटस लेखे, ‘हतार नगर्नू नयाँ शक्ति निर्माण हुनेछ।’

शुक्रबार झन् साम्पाङले प्रस्ट भाषामा सोधेका छन्, यदि हाम्ले राजनीतिक दल खोलेर अघि बढ्न चाह्यौँ भने को कसले साथ दिनुहुन्छ ?’