कोशी प्रदेशमा बढ्यो धान उत्पादन

२६ मंसिर २०८०, मंगलवार ११:४६

काठमाडौं, २६ मंसिर । कोशी प्रदेशमा गत वर्षभन्दा यसपालि धान उत्पादन बढेको छ ।

कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको कृषि विकास निर्देशनालयका अनुसार यो वर्ष १३ लाख ८२ हजार १३७ मेट्रिकटन धान उत्पादन भएको छ ।

यो परिमाण गत वर्षभन्दा ८३ हजार मेट्रिकटन भन्दा बढी हो । गत वर्ष कोशी प्रदेशका विभिन्न जिल्लामा गरी १२ लाख ९८ हजार ८५५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

निर्देशनालयका अनुसार गत वर्षको धान उत्पादकत्व ३.९२ प्रतिशत थियो । यो वर्ष उत्पादकत्व वृद्धिदर ५.८३ पुगेको छ ।

पर्याप्त वर्षा हुनु, समयमा रासायनिक मल उपलब्ध हुनु, उन्नत जातको बीउको प्रयोग र रोग किराको प्रकोप कम भएकाले उत्पादन वृद्धि भएको जनाइएको छ ।

कोशी प्रदेशको उच्च पहाडी क्षेत्रमा यस वर्ष २३ हजार २४५ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । मध्यपहाडी क्षेत्रको ८७ हजार ९३२ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो ।

यस्तै पूर्वी तराईको मोरङ, झापा र सुनसरीमा धान उत्पादनको क्षेत्र र उत्पादन वृद्धिदर पनि बढेको छ । गत वर्ष ती तीन जिल्लामा २ लाख १९ हजार ३९३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा ९ लाख ७८ हजार ६५८ मेट्रिक टन उत्पादन भएको थियो ।

यो वर्ष भने तीन जिल्लाको २ लाख २४ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा उत्पादन बढेर १० लाख ७३ हजार ६४७ मेट्रिक टन पुगेको छ ।

संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुंगा र खोटाङमा भने गत वर्ष भन्दा उत्पादन घटेको छ । ताप्लेजुङ, सोलुखुम्बु तथा मध्यपहाडी जिल्लाको पाँचथर र इलाममा धान उत्पादन बढेको छ ।