उपप्रमुख सुनिता डंगोल अस्ट्रेलिया भ्रमण सकेर स्वदेश फिर्ता, नेपालको विषयमा के के भए छलफल ?

२४ मंसिर २०८०, आईतवार १६:२१

काठमाडौं, २४ मंसिर । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल अस्ट्रेलिया भ्रमण सकेर स्वदेश फर्किएकी छिन्।

अष्ट्रेलियन सरकारको वैदेशिक मामिला मन्त्रालय र नेपालस्थित अष्ट्रेलियन दुतावासको संयुक्त निमन्त्रणमा उनी गत मंसिर ८ गते अस्ट्रेलिया भ्रमणमा गएकी थिइन्।

सो क्रममा उनले अस्ट्रेलियास्थित सिड्नी, क्यानबेरा, होबर्ट र मेलबर्न सहरहरूको भ्रमण गरिन्। स्वदेश फर्किए लगत्तै उनले आफ्नो भ्रमण सकारात्मक भएको जानकारी गराइन्।

डंगोलले भ्रमणका क्रममा अस्ट्रेलियाली प्रधानमन्त्री तथा मन्त्रिपरिषद विभाग, सामाजिक नीति तथा महिला अन्तर्राष्ट्रिय संलग्नता शाखाका प्रमुख रोचेल हवाईसँग भेट गरेका थिए।

उक्त भेटमा महिला समावेशिता, संलग्नता र सशक्तिकरण सम्बन्धी कार्यक्रम, विभिन्न क्षेत्रहरूमा महिलाहरूको सहभागिता र लैंगिक विषयवस्तुको सुधारबारे छलफल भएको उनले जानकारी दिइन्।

भेटमा एसीटी महिला योजना २०१६ – २०२६ बारे पनि छलफल भएको उनको भनाइ छ। ‘भ्रमणका क्रममा एसिटीका मुख्यमन्त्री एण्ड्रियु बार बारसँग भेट गरी काठमाडौँ महानगरसँग भगिनी सम्बन्ध स्थापित गर्ने विषयसँग सम्बन्धी आवश्यक पहल भयो,’ उनले भनिन्, ‘उर्जा आवश्यकताको व्यवस्थापन, नेपाल र अस्ट्रेलियाबिच प्रत्यक्ष हवाई उडान, स्थानीय भाषा र संस्कृति प्रर्वद्धनका लागि स्थानीय पाठ्यक्रमको विकास र निर्माण्बारे पनि आवश्यक साझेदारी गर्ने बारे छलफल भयो।’

भ्रमणका क्रममा मानव संशाधन, लैंगिक समानता, आधुनिक दासप्रथा विरुद्धको अभियानलगायतका कार्यक्रमका सन्र्दभमा सम्भावित साझेदारी र समन्वय गर्न अस्ट्रेलियाली अन्तराष्ट्रिय मामिला तथा व्यापार विभागका वरिष्ठ अधिकृत ग्यारी कोवेनसँग पनि भेट भएको थियो।