श्रमजीवीका सारथी अर्थात् जन्मदेव जैसी

२२ मंसिर २०८०, शुक्रबार ११:२८

काठमाडौं, २२ मंसिर । काठमाडौं, २२ मंसिर । श्रमजीवी पत्रकारहरुका पक्षमा निरन्तर आवाज पैरवी गर्ने एक्लो अभियन्ताको उतार चढावको पत्रकारहरुमाथि जहाँ शोषण, अन्याय त्यहाँ उनी । श्रमजीवीहरुकै ‘हितार्थ’ निर्वाचित नेपाल पत्रकार महासंघको नेतृत्व जहाँ श्रम शोषक मालिकहरुसँग निहुरमुन्टी न हुन्छ, उनीहरुको दबाब र प्रभावमा परेर औपचारिकता मात्र निर्वाह गर्छ, त्यहाँ उनी ।

उनले आफूलाई श्रमजीवीहरुको पक्षधरतामा स्पातिलो ‘ब्राण्ड’ बनाइसकेका छन् । उनी अर्थात जन्मदेव जैसी । जैसी श्रम शोषक ‘मिडिया’ मालिक, कर्पोरेट हाउस, शासकका आँखाका पिलो हुन् भने शोषण, दमन, उत्पीडनमा परेका पात्रहरुका भरोसाको सतिसाल । त्यसैले न भनिन्छ, पक्षधरता पनि आ–आफ्नो हुन्छ । त्यही पक्षधरताकै कारण शोषकको प्रिय शोषितको विरोधी कित्तामा उभिन्छ ।

शोषितको सारथी शोषकको शत्रु बनिरहेको हुन्छ । जैसी मालिक (शोषक) को आँखाको तारो बनेका छन् । सिक्काको विपरीत पाटो–उत्पीडित (शोषितं) हरुको उत्प्रेरक बनिरहेका छन् । भूगोलले सुदूर दुर्गम कालीकोटमा जन्मेरहुर्केका जैसी चेतनाले भने श्रम शोषणको जगमा ‘आधुनिक, सम्पन्न’ दैनिकी बिताइरहेका ‘कर्पोरेट मालिक’ र तिनीहरुका गुलामहरु भन्दा उन्नत दरिएका छन् ।

स्वीकार्य होस् वा नहोस्, जैसीले नेपाली पत्रकारिताभित्र आधुनिक, सभ्य र भव्यको मानक के लाई मान्ने ? ठगीलाई वा ठगी विरुद्धको आवाजलाई ? जबरजस्त प्रश्न उठाइदिएका छन् । श्रमको शोषण, श्रमिकको पसिना, श्रमजीवीको मेहनतको मूल्य ठगी गरेर रवाफको जीवन बिताइरहेका मालिकहरुको चेतनालाई आधुनिक, सभ्य, भव्य मान्ने कि झरी होस् वा बादल, कठाङ्ग्रिदो जाडो होस् वा भत्भत् पोल्ने गर्मी– भालेको डाँकसँगै पाठकका ढोका–ढोकामा पत्रिका पुर्याउने ‘साइकल ब्वाई’, जीवन नै दाउमा राखेर सूचना उधिन्ने, मध्यरातसम्म समाचारको गोडमेल गरेर पत्रिका स्तरीय बनाउने श्रमजीवी पत्रकारका पक्षमा कोइली बनिरहेको चेतना आधुनिक, सभ्य, भव्य ?

यसको व्याख्या पनि पक्षधरताकै आधारमा हुने सार्वभौम सत्य हो । श्रमजीवीहरुको मेहनतको मुनाफाबाट आर्जित सम्पत्तिमा मोज गर्दै शरीरमा अत्तर मात्र ४० हजारदेखि लाख रुपैयाँभन्दा महंगा छर्कने, पाँचदेखि १० करोडको गाडीमा सवार, सत्ता, साम, दाम, दण्ड, भेदका सबै औजार चलाइरहेका ‘साहु’ हरुको दबदबा छ, नेपाली पत्रकारिताको शिखरमा यसबेला । तिनीहरुले पत्रकारितालाई भजाएर ‘सेटिङ’ का बिचौलिया धन्दामा एकछत्र राज चलाईरहेका छन् ।

सेटिङकै कारण बैंकिङ घरानाहरुले अर्बौ कर ठगी गरेको समाचार देख्दैनन्, लेख्दैनन् । यो त एउटा प्रतिनिधि घटना मात्र हो । अपवादलाई छाडेर धेरै जसो समाचार तथ्यका आधारमाभन्दा नाफाघाटा नापतौल गरेर मात्र लेख्छन्, लेखाउँछन् । किनभने तथ्य समाचार लेख्यो भने तिनीहरुको वैधरअवैध आयमा धक्का लाग्छ ।

अनुमान गर्न सकिन्छ, कर्पोरेट हाउस चलाइरहेका धेरै ‘मालिक’ हरुले यत्तिको सम्पत्ति कमाइएला भनेर सायद सपनामा पनि कल्पना गरेका थिएनन् । सपनामा पनि सोच्न नसकेको सम्पत्ति उनीहरुले पत्रकारिताकै माध्यमबाट श्रमजीवीकै पाखुरी र दिमागको उपज कमाएका हुन् । राज्यले बनाएको जुन ऐनमा टेकेर उनीहरु केही दशकमै अर्बपत्ति, करोडपत्ति बनेका छन्, बन्ने बाटोमा छन्, त्यही राज्यले बनाएको श्रम ऐन, श्रमजीवी पत्रकार ऐन, नियमावली, राजपत्रलाई भने उनीहरुले ठाडै धज्जी उढाएका छन् । फलतः श्रमजीवीहरुलाई बँधुवा स्तरको व्यवहार गरिरहेका छन् ।

जुन कानून अनुसार दण्डनीय अपराध हो । दुर्भाग्य १ सरकार, नियामक निकाय, कानून उल्लंघनकर्ताहरुसँगै आत्मसर्मपण गरिरहेका छन् । उनीहरुहरुकै चुलोको खिचडीमा रमाईरहेका छन् । यदि राज्य विधिको शासनमा चल्नेरचलाउने हो भने योभन्दा ठूलो उपहास, विडम्बना के हुन सक्छ ? तसर्थ सरकार र कानूनलाई नै कुँज्याएर श्रम शोषणमा उन्मत्त अ९सभ्य० ‘सम्भ्रान्त’ हरुको अखडामा धावा बोल्न पक्कै सहज छैन । जुन थालमा खाएर आफू अजिर्ण भयो, त्यही थालमा थुक्ने बैगुनी अर्थात श्रमजीवीकै पसिनाबाट अर्बपत्ति बनेर कानूनले प्रष्ट तोकेको सुविधा उनीहरुलाई नै नदिने कृतघ्नसँग लड्न निकै ठूलो चुनौती छ । तर, झट्ट हेर्दा मरन्च्याँसे, झुसे, सफाचट भएर हिडेको कहिल्यै नदेखिने, दूरदराजको सामान्य परिवारको एउटा ‘फुकीढल फुच्चे केटो’ ले राजधानी काठमाडौंका वैध–अवैध धन्दाका ‘सम्राट्’ हरुको निद्रा खल्बल्याईदिएको छ । त्यो केटो हो, जन्मदेव जैसी । कसरी संभव भयो त सम्भ्रान्तहरुको निद्रा खल्बल्याउन ? “संसारकै इतिहास अध्ययन गर्दा कानून उल्लंघनकर्ता श्रम शोषकहरु देख्दा मात्र भव्य र शक्तिशाली देखिन्छन् । कानूनी र नैतिकरुपमा उनीहरु एकदमै कमजोर हुन्छन्”, जैसी भन्छन्, “यथार्थमा मजदुर र श्रमजीवीहरुसँग सबैभन्दा शक्तिशाली हतियार हुन्छ । किनभने उनीहरु कानूनी र नैतिक दुवै पक्षमा बलिया एवं इमान्दार हुन्छन् ।

हामीले प्रचलित कानून अनुसार सेवा सुविधा देउ भन्नु बाहेक मालिकहरुले कमाएको सबै सम्पत्ति बाँड, कम्पनीको सेयर देउ भनेका छैनौं । कानून सम्मत माग राखेकाले साहुहरु गल्न वाध्य भएका हुन् । उनीहरु श्रमजीवीहरुको दयामायाले झुकेका होइनन् ।” कालिकोटदेखि काठमाडौंसम्मको कष्ट जैसीकै भनाइमा उनी कालिकोटको साविक रकु गा.वि.स. हाल सान्नी त्रिवेणी गा.पा. वडा नं. एकमा ०३५ साल मंसिर २० गते बाबुआमाको जेठो सन्तानका रुपमा जन्मिएका हुन् ।

जैसीका एक भाइ र दुई बहिनी छन् । कालिकोटकै रास्कोट मा.वि.बाट ०५४ सालमा उनले तत्कालीन द्धितिय श्रेणीमा एसएलसी उत्तीर्ण गरे । उनका बावु, बाजे, बराजुदेखि परिवारमा एसएलसी पास गर्ने उनी नै पहिलो हुन् । घरबाट निकै टाढा रहेको रास्कोट मा।वि।मा उनी डेरा बसेर पढेका थिए । आफ्नो ‘व्याच’ बाट ४५ जनाले एसएलसी दिएकोमा नौ जना पास भएको जैसी बताउँछन् । एसएलसी पास गरेपछि मास्टर (शिक्षक) हुने भूत सवार थियो, उनको दिलदिमागमा । किनभने त्यही परम्परा थियो, उनको गाउँमा त्यसबेला । उनले मास्टर हुन निकै कोसिस गरे । तर, कतै पाएनन् वा बिकेनन् ।

मास्टर हुन नपाए कामका लागि भारत जाने चलन थियो, गाउँभरी नै । त्यसअघि सात कक्षामा पढ्दै गर्दा १३ वर्षमा बा, आमाले एउटै उमेरकी चन्दु जैसीसँग लगनगाँठो कसिदिई सकेका थिए । १७ वर्षको हुँदा छोरी गोमा जन्मिसकेकी थिइँन । जो एक वर्षअघि ‘होटल म्यानेजमेन्ट’ पढ्न जर्मन गएकी छन् । “कामको खोजीमा भारत जान जग्गा बन्दकी राखेर पाँच हजार रुपैयाँ बोकेर म कर्णालीको चिसापानी आउँदै थिए । बाटोमा ससुरा पर्ने आफन्त भेटिए । उनले भारत नजाउ । काठमाडौं हिड । मसँगै बसेर पढ भनेर सुझाए । म सहमत भएँ । यात्रा मोडियो”, जैसी आफ्नो कहानी कहन्छन्, “ससुराको डेरा थापाथलीमा रहेछ । त्यही आईयो । काठमाडौं आएको केही दिन पछि नै सात सय तिरेर आर.आर. क्याम्पसमा भर्ना भइयो ।

त्यसबेला यज्ञराज सुनुवार (ओखलढुङ्गाबाट दुई पटक निर्वाचित संविधान सभा, प्रतिनिधि सभा सदस्य तथा एमाले नेता) स्ववियु सभापति थिए ।” जैसीकै शब्दमा केही समयपछि पैसा सकियो । घरबेटीले कोठामा ताला लगाईदिए । ससुरा सम्पर्कहीन भए । यसपछि उनी बिचल्लीमा परे । पुरानो बसपार्कमा होटलहरु थिए । कामको खोजी गर्दै उनी त्यहीँ पुगे । तर, काम पाएनन् । त्यहाँ दुई रात गुजारे । उनलाई कसैले सुन्धारामा काम पाइने बताईदिए । सुन्धारा पुगे । नभन्दै पिए लजमा भाडा माझ्ने, कोठा, खाट सफा गर्ने, कपडा धुने काम पाए । जहाँ काम गर्दै बेला–बेलामा आरआारमा ‘नाइट सिफ्ट’ पढन धाउँथे । तर, निरन्तर जान पाउँदैनथिए । अध्ययनसँगै आरआरमा उनी अखिल क्रान्तिकारीमा जोडिए । जसको माउ पार्टी सशस्त्र द्धन्द्धमा सहभागी भएर भूमिगत थियो । कालिकोटको रास्कोटमा पढ्दा भने जैसी एमाले निकट अखिलमा थिए । भारतीय अभिनेता ऋतिक रोशनले दिएको भनिएको ‘फेक’ अभिव्यक्तिलाई लिएर ११ पुस ०५७ मा काठमाडौंमा आन्दोलनको हुरी फैलियो । त्यसमा जैसी पनि सहभागी भएका थिए । आन्दोलनको केन्द्र लैनचौरस्थित अस्कल क्याम्पस थियो ।

उनी त्यहीँबाट पक्राउ परे । यसपछि उनको बास जेलमा सर्यो । ऋतिक रोशन काण्डमा पक्राउ परेका जैसी १८ जेठ ०५८ मात्र छुटे । आइए दोस्रो वर्षको परीक्षा जेलबाटै दिएको उनी बताउँछन् । “जेलबाट छुटेकै भोलिपल्ट दरबार हत्या काण्ड भयो । काठमाडौं अस्तव्यस्त थियो । धन्न, जेलमै छँदा सिलाइमा काम गर्ने एक जना हामीलाई भेट्न आउँथे । केही दिन उनैसँग बसेँ”, जैसी भन्छन्, “यसपछि कालिकोट घर गएँ । म जेल परेको र छुटेको परिवारले घर गएपछि मात्र जानकारी पाए । घरमा केही समय बसेर काठमाडौं फर्किएँ ।” यसै मेसोमा जागिर खोज्ने क्रममा जैसीले बागबजारको भक्तपुर बसपार्कस्थित हिमशिखर गेष्ट हाउसमा काम पाए ।

 

तीन दिनपछि नेकपा मालेका महासचिव सीपी मैनाली आफैं सेनाको भैरवनाथ गणमा गएर आफ्नो कार्यकर्ता भनेर उनलाई छुटाए । तर, अफिसमा ल्याएर मैनालीले खुब पेलेको जैसी सुनाउँछन् । मैनालीले पेलेपछि प्रकाश साप्ताहिक छाडेको उनको भनाइ छ । प्रकाश साप्ताहिक छाडेको केही समयपछि विनोद ढुङ्गेलले उनलाई नेपाल एफएममा जोडे । ०६२ र ६३ को जनआन्दोलनमा आफूले नेपाल एफएममा ‘फिल्ड रिपोर्टिङ’ गरेको बताउँछन् उनी ।

माओवादी शान्ति प्रक्रियामा आएपछि मंसिर ०६३ देखि कालिकोटकै नेता खडगबहादुर विश्वकर्माको सुझावमा नयाँ कर्णाली पत्रिका प्रकाशित गरे । तर, यसमा उनको आवद्धता लामो समय रहेन । ०६४ को संविधान सभा निर्वाचनभन्दा केही समय अघि तत्कालीन सम्पादक जिवेन्द्र सिंखडाले आफूलाई राजधानी दैनिकमा लगेका जैसीको भनाइ छ। राजधानीबाटै श्रमजीवीका पक्षमा जैसीका अनुसार राजधानीमा जोडिएको लामो समय नबित्दै सिंखडाले सम्पादकबाट राजीनामा दिए ।

यसपछि प्रकाश अधिकारी सम्पादक भए । अधिकारी पनि लामो समय टिकेनन् । अधिकारीपछि मोहन दाहाल, दाहाल पछि युवराज घिमिरे सम्पादक भए । यहीबेला राजधानीले नौ महिनासम्म तलव दिएन । तलव माग गर्दा आफूलाई खुब पेलिएको उनको अनुभव छ । राजधानी दैनिकबाटै श्रमजीवी पत्रकारहरुको मुद्दा उठाउन थाले जैसीले । लामो संघर्षपछि ०६६ मा एकमुष्ट एक लाख सात हजार रकम दिएर उनलाई राजधानी दैनिकले बिदा गर्यो ।

राजधानीबाट बाहिरिएसँगै आफू श्रमजीवी पत्रकारहरुलाई न्याय दिलाउने आन्दोलनमा होमिएको उनी बताउँछन् । “राजधानीबाट बाहिरिएपछि म मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’ हरुसँग नजिक भएर तत्कालीन एकीकृत नेकपा (माओवादी) मा पूर्णकालीन भएँ ।

पत्रकार महासंघ काठमाडौं शाखाको कार्यकारी सदस्य र केन्द्रीय सदस्य चुनिएँ”, उनी भन्छन्, “माओवादी विभाजन भएपछि वैद्यले अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघको अध्यक्ष बनाइदिए । यही बेला वैद्य र विप्लव विभाजित भए । म विप्लवतिर लागे ।” विप्लव समूहमा आवद्ध भएपछि जैसीले क्रान्तिकारी पत्रकार संघको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पाए । जसको अध्यक्ष प्रभात चलाउने थिए ।


रोचक के भने कालिकोटकै माओवादी नेता खड्गबहादुर विश्वकर्माबाट प्रभावित भएर नयाँ कर्णालीमा जोडिएका जैसीको कालान्तरमा उनैसँग चर्को अन्तरसंघर्ष पर्यो । विप्लव र विश्वकर्माले चलाउने, जैसीलगायतमाथि कारबाहीको डण्डा चलाए । यसपछि जैसीले ट्रेड युनियन ऐन अन्तर्गत ०७७ मा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा कानूनी रुपमै श्रमजीवी पत्रकार संघ दर्ता गराए । अर्थात श्रमजीवीका पक्षमा वकालत गर्न वैधानिक फोरम बनाए ।

यस बेला श्रमजीवी पत्रकार संघमा देशैभरीबाट तीन सयभन्दा बढी श्रमजीवीहरु जोडिएका बताउँछन्, उनी । “श्रमजीवी पत्रकारहरुले पाउनु पर्ने पारिश्रमिक, सेवा, सुविधाका लागि नयाँ पत्रिका दैनिक बाहेक सबै ठूला, साना सञ्चार गृहमा हामीले आन्दोलन गर्नु परिरहेको छ । जुन निकै विडम्बनापूर्ण कुरा हो”, जैसीको कथन छ, “साहुहरु पारिश्रमिक, सेवा, सुविधा दिन नसक्ने गरी टाँठ पल्टिएर रित्तो हात श्रमजीवी कटौटी गर्न वाध्य भएका हुँदै होइनन् । मुनाफा एक्लै कुम्ल्याउने कुत्सित मनसायले योजनावद्ध रुपमा श्रमजीवीको अधिकार एवं गाँस शोषण गरेका हुन् । तर, यस्तो दुर्दान्त अवस्थामा पनि सरकार, पत्रकार महासंघ रमिते बनिरहेका छन् वा औपचारिकता मात्र निर्वाह गरिरहेका छन् ।”

श्रमजीवीहरुका पक्षमा आवाज मुखरित गर्दा सत्ताधारी र साहुहरुले समय–समयमा धम्क्याउने गरेका जैसी बताउँछन् । त्यस्तो धम्कीबाट आफूलाई केही फरक नपर्ने उनको भनाइ छ । “मेरो व्यक्तिगत स्वार्थले मैले कुनै पनि श्रमजीवी र उनीहरुको आन्दोलनलाई साथ दिएको एवं मालिकको बिरोध गरेको होइन । श्रमजीवीहरुलाई कानूनले तोकेको अधिकार देउ भनेको मात्र हो”, जैसी भन्छन्, “मजदुर, श्रमजीवीहरुले मालिकलाई दबाब नदिइ कहीँ पनि आफ्नो अधिकारको निर्वाध उपभोग गर्न पाएका छैनन् । हामी पनि अधिकारको उपभोगका लागि आन्दोलन गर्न वाध्य भइरहेका हौं ।”