कोप २८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड आज यूएई जाँदै

१३ मंसिर २०८०, बुधबार ०८:५२

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदै छन् ।

यूएईको दुबईमा भोलिदेखि सुरु हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) मा सहभागी हुन उनी आज राति १० बजे त्यसतर्फ जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

आयोजक यूएईले अध्यक्षता गर्ने यो सम्मेलन तेह्र दिनसम्म चल्ने छ । कोप–२८ मा सहभागितासँगै अति कमविकसित देशहरुको तर्फबाट नेपालले अध्यक्षताको प्रतिनिधित्व गरी जलवायु परिवर्तनले नेपाल जस्ता अति कम विकसित देशहरुमा पारेको असरलाई उल्लेख गर्दै जलवायु न्याय र क्षतिपूर्तिका लागि सशक्त रुपमा आवाज उठाउने तयारी गरेको छ ।

कोप २८ मा नेपालमा जलवायु परिवर्तनबाट परेको असर र त्यसको प्रभावको दृष्टान्त सम्मेलनमा देखाउने तयारी नेपालले गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।