यातायात नचल्दा यात्रु समस्यामा

१२ मंसिर २०८०, मंगलवार १३:३९

काठमाडौं, १२ मंसिर । आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै पहिचानवादी पक्षधरले आह्वान गरेको बन्दका कारण मेचीका जिल्लामा जनजीवन प्रभावित बनेको छ । मेची राजमार्गमा मंगलबार सवारीसाधन नचल्दा यात्रुहरु गन्तव्य पुग्न पाएका छैनन् ।

मेची राजमार्गको फिदिम–ताप्लेजुङ र फिदिम–इलाम सडक खण्डमा यातायातका साधन चलेका छैनन् । बन्द आह्वानकर्ताले यातायातका साधनलाई चल्न नदिएपछि यात्रुहरु मर्कामा परेका छन् ।

प्रदेश नामकरणप्रति असन्तुट बनेको ‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिको आह्वानमा आज यातायात बन्द भएको हो ।

एमाले सचिव तथा संघीय सांसद योगेश भट्टराई गृहनगर ताप्लेजुङ पुगेका बेला दुई दिनअघि पहिचान पक्षधर संगठनका कार्यकर्ताले विरोध गरेका थिए ।

उनीहरुले भट्टराईलाई कालोझण्डा देखाउनुका साथै उनी चढेको गाढीमा लाठी र ढुंगा प्रहार गरेका थिए । उक्त कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको थियो ।

तोडफोडमा संलग्न भएको आरोपमा विविन कालिङवा र आनन्द कालिङवालाई प्रहरीले पक्राउ गरेको थियो । समितिले भने उनीहरुमाथि झूटो आरोप लगाइएको दाबी गर्दै तत्काल रिहाइ गर्न माग गरेको छ ।