काठमाडौं, १० मंसिर । तेस्रो संस्करणको आइर्वाट नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव सम्पन्न भएको छ । काठमाडौँस्थित चलचित्र विकास बोर्डको हलमा भएको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको सहभागिता थियो ।
शनिवार दिनभर चलेको महोत्सवको उद्घाटन उपसभामुख इन्दिरा राना मगरले गरेकी थिइन् । समापन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखाशर्माले गरेकी थिइन् ।महोत्सवकै अवसर पारेर चौथो आइर्वाट लघु चलचित्र प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।
महिलाद्वारा निर्देशित ३ देखि १५ मिनेट लामा चलचित्रहरूले सहभागिता जनाएको सो प्रतियोगितामा अनुष्का अर्यालद्वारा निर्देशित ’सङ्कुल’ प्रथम भयो ।त्यस्तै, अनिता स्याङबो निर्देशित ’वर्थ’, श्रेयन राजभण्डारी निर्देशित ’अक्वारियम’, पुनम पौडेल निर्देशित ’लिभिङ विथ डिग्निटी’ र सरिता शाह निर्देशित ’नोटबुक’ ले विशेष लघु चलचित्रको पुरस्कार प्राप्त गरे ।
महोत्सवमा सहभागिता जनाउन आइर्वाट भारतकी म्यानेजिङ ट्रस्टी तथा फिल्ममेकर आराधना कोहली कपुर, बङ्गलादेशकी फिल्ममेकर, मानव अधिकारकर्मी तथा पत्रकार सुमी खान, तान्जानियाकी पत्रकार तथा फिल्म मेकर मारियम मोहम्मद हमादी, किर्गिस्तानकी फिल्ममेकर तथा पत्रकार जाम्बी जुजुबालिविभा, आइर्वाट नेपालकी संस्थापक वन्दना राणा, आइर्वाट नेपालकी पूर्व अध्यक्ष अनुपा श्रेष्ठ, नेपालकी फिल्म निर्माण सल्लाहकार प्रसुना डङ्गोल लगायतको उपस्थिति थियो ।
महोत्सवमा भएको ’प्यानल डिस्कसन’मा ती प्रतिनिधिहरुको सहभागिता थियो ।महोत्सवमा नेपाली र विदेशी गरी १३ वटा चलचित्र प्रदर्शन गरिएको थियो । कम्बोडियाको ’सेक्रेट किलर’, ट्युनिसियाको ’द नाइट अफ द ब्लाईन्ड मुन’, तान्जानियाको ’मुहाली’, किर्गिस्तानको ’सागा अन ओमेन’ लगायत चलचित्रहरू प्रदर्शन भएको थियो ।
कार्यक्रमको उद्घाटनको क्रममा उपसभामुख राना मगरले फिल्ममेकरले उठान गरेका हरेक कथाले समाज बदल्ने क्षमता राख्ने बताइन् ।केही चलचित्र हेरेपछि सम्बोधनको क्रममा उनले भनिन्, ‘हरेक कथाले हाम्रो समाज बदल्ने क्षमता राख्छन् । लैङ्गिक हिंसा महिलालाई मात्रनभई पुरुषलाई पनि हुन्छ भन्ने चलचित्र हेर्न पाइयो । नेपालमा हामीले यस विषयमा बहस समेत सुरु गर्न सकेका छैनौँ ।’

मगरले भूकम्प र कोभिडको समयमा महिलामाथि भएका हिंसाका थुप्रै घटनाहरूलाई चलचित्रमार्फत देखाउन आग्रह गरिन् । उनले थपिन्, ‘महामारीका बेला महिलाहरूमाथि थुप्रै हिंसा भए । ती हिंसाका घटनाहरूलाई चलचित्रमार्फत बाहिर ल्याउन जरुरी छ । हामीले देखाउने धेरै कथाहरूले हाम्रो समाज परिवर्तन गर्न सक्छन् ।’
समापन समारोहमा मन्त्रीशर्माले समाज परिवर्तनमा महिला चलचित्रकर्मीहरूको प्रयासप्रति धन्यवाद व्यक्त गरिन् । उनले भनिन्, ‘हामीले अहिले विभिन्न क्षेत्रमा महिला सशक्ती करणका अभ्यासहरू भइरहेको देखेका छौँ । चलचित्र क्षेत्रमा समाजलाई सन्देश दिने ढङ्गले जसरी महिला चलचित्रकर्मीहरूले जुन प्रयत्न गरिरहनुभएको छ, उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु । यो कामले निरन्तरता पाउन सकोस् ।’
यस्तै मन्त्री शर्माले समाजका विभिन्न कामहरूमा महिलाले आफ्नो पुरै जीवन कसरी त्याग गर्न सक्छन् भन्ने चलचित्रहरू पनि हेर्न पाएको बताइन् । उनले थपिन्, ‘महिलालाई किन धर्ती भनिएको हो भन्ने अर्थ यी चलचित्रमा पाइन्छ । महोत्सवमा देखाइएका सबै चलचित्रहरू एकदमै प्रेरणादायी छन् ।’ मन्त्री शर्माले सरकारले महिला चलचित्रकर्मीहरूलाई प्रोत्साहन दिने खालका योजनाहरूमा काम गरिरहेको बताइन् ।

महोत्सवमा काठमाडौँ महानगरपालिका अन्तर्गतको युनेस्को चलचित्र नगरी परियोजना र चलचित्र विकास बोर्डले सहकार्य गरेका थिए । एक भिडियो सन्देशमार्फत महानगर पालिकाकी उपप्रमुख सुनिता डङ्गोलले चलचित्र महोत्सवलाई एउटा अवसरको रूपमा लिनुपर्ने बताइन् ।
उनले भनिन्, ‘यस महोत्सवले धेरैभन्दा धेरै महिला चलचित्रकर्मीहरूलाई प्रोत्साहन दिनेछ । नयाँ पुस्ताका चलचित्र कर्मीहरूलाई पनि चलचित्र क्षेत्रमा आफ्नो भविष्य बनाउने आशा दिनेछ । त्यतिमात्र नभएर धेरैलाई प्रोत्साहन र अवसर सँगसँगै नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनको लागि पनि महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने आशा लिएका छौँ ।’
महोत्सवका क्रममा पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालको उपस्थितिमा नेपालकी पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठलाई सम्मान गरिएको थियो । रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारहरूको छाता सङ्गठन इन्टरनेशनल एसोसिएसन अफ वमन इन रेडियो एन्ड टेलिभिजन (आइर्वाट) को नेपाल शाखाले यो महोत्सवको आयोजना गरेको हो ।
नेपाली चलचित्र क्षेत्रमा रहेका रचनात्मक र सृजनशील महिलाहरू विविध कारणले पछाडि परेको कारण उनीहरूलाई प्रोत्साहन गर्न महोत्सव आयोजना गरिएको महोत्सवकी निर्देशक सङ्गीता श्रेष्ठले बताइन् । आइवार्टले महिला चलचित्र कर्मीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको आइर्वाट नेपाल च्याप्टरकी अध्यक्ष इच्छा गुरुङले जानकारी दिइन् ।
