वनभोज मनाएर फर्कदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना

९ मंसिर २०८०, शनिबार १८:३७

काठमाडौं, ०९ मंसिर । वनभोज मनाएर फर्कदै गरेको स्कुल बस दुर्घटना हुँदा उदयपुरमा शनिबार २५ जनाभन्दा बढी घाइते भएका छन् । घाइते हुनेमा बालबालिका र अभिभावक पनि छन् ।

उदयपुरको त्रियुगा नगरपालिका–५ देउरीस्थित अन्नपूर्ण स्कुलको बस मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उदयपुरका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार वनभोज मनाएर फर्कने क्रममा बस दुर्घटना भएको हो ।

उक्त बसमा ३५ जनाभन्दा बढी सवार रहेको अनुमान गरिएको छ ।दुर्घटना लगत्तै घाइतेहरुलाई उदयपुर जिल्ला अस्पताल पु¥याइएको छ । सिकिस्त अवस्थाका केही घाइतेलाई सुविधा सम्पन्न अस्पतालमा रेफर गर्ने तयारी गरिएको छ ।