काठमाडौं, ०८ मंसिर । कांग्रेस महामन्त्री गगन थापाले एउटै व्यक्ति चार पाँच पटक प्रधानमन्त्री हुनुले जनतामा राम्रो परिणाम नआएको बताए । वर्तमान र भूतपूर्व प्रधानमन्त्रीहरुले अब हामी प्रधानमन्त्री हुँदैनौं भनेर निर्णय गरेमा सबै समस्या समाधान हुने उनले बताए ।
कांग्रेस अर्घाखाँचीको प्रथम अधिवेशनलाई शुक्रवार सन्धिखर्कमा सम्बोधन गर्दै थापाले वर्तमान व्यवस्थालाई बदल्नतिर नलाग्न उनले अनुरोध गरे । केही व्यक्तिले गरेका कमीकमजोरी देखाएर व्यवस्था नै बदल्नुपर्छ भन्नेतिर लागेमा यो जुनी नै खेर जाने भएकाले बिचल्लित नहुन उनले कार्यकर्तालाई आग्रह गरे ।
पछिल्लो समय नागरिकमा आक्रोश, भ्रम र निराशा भएकाले त्यसलाई सरकारले सम्बोधन गर्नुपर्ने उनले बताए । उनले केही भएन भनेर कतै नबरालिन कार्यकर्तालाई अनुरोध गर्दै थापाले कांग्रेसले नै मुलुक बनाउने दावी गरे ।
भष्टचारका काण्डैकाण्डले निराशा छाएकाले भष्टचार गर्ने, भुटानी शरणार्थी काण्ड लगायत बाहिर आएका सबै काण्डमा जे सुकै, जुन पाटीको नेता भएपनि समातिएर कारवाही हुनुपर्ने उनले बताए ।
सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, पुष्पा भुसाल, मानबहादुर विश्वकर्मा, नैनसिंह महर, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन लगायतका नेताले सम्बोधन गरेका थिए ।
कार्यक्रम जिल्ला सभापति केशव श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष विष्णुप्रसाद भुसालको स्वागत र सचिव कृष्ण खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।
