काठमाडौं, ०८ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाह आज झापा जाँदै छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को व्यवस्थापनमा उनी झापा जान लागेका हुन्। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पूर्वराजा आज दिउँसो काठमाडौँबाट हवाईजहाजमा झापा जाने कार्यक्रम रहेको जानकारी दिए।
उनले भने ‘बिर्तामोडस्थित ई कम कलेजमा निर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न उहाँ त्यहाँ जान लाग्नुभएको हो।’ उनको भ्रमण व्यवस्थापनका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १० दिनदेखि झापामै छन्।
राप्रपा प्रवक्ता श्रेष्ठका अनुसार पूर्वराजा ज्ञानेन्द्र धुलाबारीस्थित मेची रिसोर्टमा बस्ने कार्यक्रम छ। भोलि शनिबार धुलाबारीस्थित निम्जा खोलाबाट उनको स्वागतमा ८ हजार मोटरसाइकलको र्याली गरिने उनको दाबी छ।
बिर्तामोडमा पूर्वराजा शाहले ४५ मिनेट हिँडेर सर्वसाधारणसँग भेट गर्ने कार्यक्रम पनि रहेको उनले बताए। ‘कार्यक्रममा ५० हजार जनाको सहभागिता रहने आकलन छ’, श्रेष्ठले भने।
काठमाडौँमा राजतन्त्र पुनःस्थापनाको माग गर्दै दुर्गा प्रसाईंको समूहले प्रदर्शन गरेको भोलिपल्टै राप्रपाले पूर्वराजा ज्ञानेन्द्रलाई झापाको भ्रमण गराउन लागेको हो।
