काठमाडौं, ०३ मंसिर । आज बिहानदेखि ब्रत बसेका ब्रतालुले साँझपवित्र जलाशयमा सजाइएको घाटमा मिष्ठान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिनेछन्।
यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सँझिया घाट’ र ‘सझुका अरख’ भन्ने चलन छ। मिथिला अहिले ‘सझुका अरख’ को तयारीमा छ। विशेषगरी अहिले जनकपुरको गंगा सागर झकिझकाउ पारिएको छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्य र ब्रह्माका मानसपुत्री छठी (षष्ठी)को उपासना र पूजा गरी मनाइन्छ। कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ। दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई ब्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गर्दछन् ।

यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठी अर्थात् आजनिराहार ब्रत बसी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिछ। आज रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ।
कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्नेविश्वास पनि छ।

