प्रधानमन्त्री प्रचण्ड क्रान्तिको तयारीमा

२४ कार्तिक २०८०, शुक्रबार १८:२३

काठमाडौं, २४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नयाँ चरणको क्रान्तिको तयारीमा लागेको बताएका छन्।

क्रान्तिको स्वरुप र आवश्यकताबारे पटक्कै नबोलेका प्रधानमन्त्री प्रचण्डले पूर्व माओवादीहरुको एकता र सर्वदलीय एकताको बिषयलाई चर्चामा ल्याएका छन्। विश्लेषकहरुले प्रधानमन्त्रीका यी भनाईलाई सत्ताको अवधि लम्याउने चाल भनेर आलोचना गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले केही दिनअघि सर्वदलीय वैठकमा गणतन्त्रमाथि संकट आईपरेको अपुष्टचर्चामा दलहरुसँग परामर्श गरेका थिए। सत्तामा रहेका प्रमुखदलहरुले पनि पुष्टि हुनबाँकी नै रहेको ‘गणतन्त्रमाथिको खतरा’विरुध्दएकतावध्द हुने अठोट गरेका थिए। जसकाबारेमा सर्वत्र अलोचना भैरहेको छ।

गाउँस्तरीय प्रशिक्षणमा कार्यकर्ता प्रशिक्षित गर्न आज रोल्पाको थवाङ पुगेका दाहालले ‘अब नयाँ चरणको क्रान्तिको तयारीमा’लागेको सुनाए।

पहिलो पल्ट चारदशक अघि ‘जनयुध्दको तयारी गर्न’ थवाङ पुगेको स्मरणगर्दै प्रधानमन्त्री प्रचण्डले थवाङलार्ई विचार र क्रान्तिको प्रतीकको संज्ञा दिए।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्झिए, ‘६ वर्षपछि हाम्रो आधार क्षेत्र थवाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ। म ४० वर्ष अघि पहिलो पटक थवाङ आएको थिएँ। जनयुद्धको तयारी, उठान र सञ्चालन यहि आधार बनाएर गरिएको थियो।’ त्यति बेलाको अवस्था स्मरण गर्दै प्रचण्ड भन्छन्,‘थवाङ विचार र क्रान्तिको प्रतीक हो। यसले विचार दियो, गुणात्मक परिवर्तन दियो। एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ। जनवादीक्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेल्यो। अब हामी नयाँ चरणको क्रान्तिको तयारीमा छौं।’

क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा नहिँड्ने तर्क गर्दै प्रचण्डले यो कहिले अघिबढ्ने, कहिले एक कदम पछिहट्ने गर्छ भनी कार्यकर्तालाई सम्झाए। आगामी विशेष महाधिवेशनमा पार्टीले समाजवादको बाटो थप स्पष्ट पर्ने, विचारको विकास र संश्लेषण गरी समाजवादी क्रान्तिको तयारीको चरणमा समाजवादको आधार तयार पार्ने विचार निर्माण गर्नेभावी योजनापनिप्रचण्डले प्रशिक्षणमा सहभागीकार्यकर्ताहरुलाई सुनाए।

मिलिजुली सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्री प्रचण्डले आजको ‘नयाँ परिस्थितिमा नयाँ ढंगले क्रान्तिको नेतृत्व गर्ने’भन्दै समाजवादी क्रान्तिको लागि थवाङले फेरि पनि अग्रणी भूमिका खेल्नुपर्ने सम्भावना रहेको भन्दै ‘जनयुध्द’को समापन भैनसकेको संकेत गरेका थिए।

शान्ति प्रक्रिया पछि माओवादीहरू विभाजित भएकाले कमजोर भएको भन्दै अहिले विस्तारै एकताको आधार तयार हुँदै गएको प्रचण्डको भनाई छ।

‘विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै हुनुहुन्छ। हामी छिट्टै एकतावद्ध हुन्छौं। समाजवादको आधार तयार पार्ने उद्धेश्यले नै केही नयाँ काम सुरू गरेका छौं’अध्यक्ष प्रचण्डले प्रशिक्षण कार्यक्रममा भने।