गोरखा लोक्पाका २२ घरधुरी सुख्खा पहिरोको जोखिममा

२४ कार्तिक २०८०, शुक्रबार ११:२९

काठमाडौं, २४ कात्तिक । । गोरखाको लोक्पागाउँका २२ घर सुख्खा पहिरो जोखिममा परेका छन् ।

गोरखाको विकट चुमनुब्री गाउँपालिका वडा नं ६ स्थित लोक्पामा बुधवार देखि सुख्खापहिरो जानथाले पछि जोखिम बढेको हो । लोक्पागाउँ नजिकै गतबर्ष असोजमा परेको पानीले पहिरो गएको ठाउँमा फेरी सुख्खा पहिरो जानथाले पछि जमिन समेत चिरा परेर घरहरु जोखिममा परेको चुमनुब्रीगाउँपालिका वडा नं ६ का वडाध्यक्ष सरोज लामाले जानकारी दिए ।

पहिरोले गोरखाको चुमउ पत्यका जाने पर्यटन पद मार्गमा समेत क्षति पुगेकोले १ घण्टा टाढा अस्थायी बैकल्पीक बाटो मार्फत जोखिमपूर्ण तरिकाले पर्यटक र स्थानीय हिड्डुल गर्नुपरेको स्थानीय सेराप गुरुङ्गले बताए ।

उनले भने, ‘वडा नं ६ र ७ बीच खाद्यान्न ढुवानीका लागि खच्चड हिडाउन समेत कठिनाई भएको छ । पहिलोले स्थानीय लाक्पा दोर्जे लामाको झण्डै १०÷११ रोपनी बारी र घर बस्नै नहुने गरी क्षतिपुगेको छ ।’

बस्ती नै जोखिममा परेकोले लोक्पाको पहिरोको दिर्घकालीन समाधानका लागि संघीय सरकार र प्रदेश सरकार संग माग गरिने चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको भनाई छ । गोरखा सदरमुकाम बाट ३ दिनको पैदलयात्रा पछि मात्र लोक्पा पुगिन्छ ।