काठमाडौं, २४ कात्तिक । । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानले वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनलाई संघीय र प्रादेशिक दुवै सरकारको साझा अधिकारको रूपमा राखेको बताएका छन् ।
विश्व विज्ञान दिवसको सन्दर्भमा शुभकामना सन्देश दिदैँ उनले अनुसन्धान नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रलाई सशक्तीकरण र सवलीकरण गरी दीर्घकालीन नीति र कार्यक्रमहरू तर्जुमा गर्न सरकार तत्पर रहेको बताए ।
उनले भने, ‘नेपालको संविधानले वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनलाई संघीय र प्रादेशिक दुवै सरकारको साझा अधिकारको रूपमा राखेको छ । अनुसन्धान नवप्रवर्तन र उद्यमशीलता राष्ट्रिय प्राणालीहरु एकीकृत गर्न यस क्षेत्रमा विद्यमान संरचनाहरुको सशक्तीकरण र सवलीकरण गरी दीर्घकालीन नीति र कार्यक्रमहरू तर्जुमा गर्न सरकार तत्पर रहेको छ ।’
उनले आजको दिनले शान्ति र विकासका लागि विज्ञानसँग सम्बन्धित गतिविधिहरूमा सरकारी अधिकारीहरू सञ्चार माध्यमहरु र विद्यार्थीहरु लगायत विभिन्न बालाहरूको सहभागिता प्रोत्साहना गर्ने विश्वास लिएको बताए ।
वैज्ञानिक, अनुसन्धानकर्मी, प्रविधिविकास र नवप्रवर्तनमा लागेका युवा प्रतिभाहरूको सुरक्षा र प्रवद्र्धनमा लगानी बढाउने नेपाल सरकारका नीतिहरू कार्यान्वयनमा रहेका भन्दै यसको प्रवद्र्धन गर्न विधेयकको मस्यौदा तयार गरिरहेका पनि उनको भनाई छ ।
उनले भने, ‘वैज्ञानिक, अनुसन्धानकर्मी, प्रविधिविकास र नवप्रवर्तनमा लागेका युवा प्रतिभाहरूको सुरक्षा र प्रवद्र्धनमा लगानी बढाउने नेपाल सरकारका नीतिहरू कार्यान्वयनमा रहेका छन् । चालु आर्थिक वर्षमा सरकारले वैज्ञानिक अनुसन्धानकर्मी, आविष्कारक युवा उद्यमीलाई सहयोग पुयाउन अनुसन्धान, आविष्कार तथा नवप्रवर्तन जस्ता युवा मैत्री कार्यक्रमहरुका लागि बजेट विनियोजन समेत गरेको छ । सरकारले अनुसन्धान आविष्कार र उद्यमशीलता प्रवर्द्धन गर्न विधेयकको मस्यौदा तयार गरिरहेका छ ।’

