त्रिशुली अस्पतालको सिटी स्क्यान मेसिन खरिदमा करोडौ कमिसन

२२ कार्तिक २०८०, बुधबार १७:२६

काठमाडौं, २२ कात्तिक । नुवाकोटको त्रिशुली अस्पतालको लागि सिटी स्क्यान मेसिन किन्न करोडौ रुपैयाँको कमिसनको खेलमा अस्पताल प्रशासन लागेको खुलेको छ ।

नुवाकोट सहित अन्य दुई जिल्लामा सिटी स्क्यान मेसिन किन्न बागमती प्रदेश सरकारले २४ करोड बजेट छुट्टाएको थियो । नुवाकोट, सिन्धुली र भक्तपुर अस्पतालमा आठ करोडका दरले तीन वटा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अगाडि बढिसकेको छ ।

त्यसमध्ये नुवाकोटको त्रिशूली अस्पतालका लागि सिटी किन्ने प्रक्रिया टेन्डर भएर प्रिबिड मिटिङ समेत भइसकेको छ । इमानदार भएर किन्ने हो भने यी तीनै मेसिन करिब १५ करोडमा जडान गर्न सकिने स्रोतको अनुमान रहेको छ । तर केन्द्रदेखि प्रदेशसम्मको स्वास्थ्यमन्त्रीको इच्छामा सिधै नौ करोड बढी मूल्यमा सिटी स्क्यान मेसिन किन्ने तयारी रहेको छ ।

सेटिङमा मेसिन आपूर्ति गर्नेमा ‘मेट्रोनिक्स नेपाल प्रालीका कार्यकारी निर्देशक धिरज थपलिया अनि भण्डारी सर्जिकल हाउसका मालिक आरएस भण्डारी सक्रिय रहेका छन । त्रिशूली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रतीक सिंह यो समूहको मुख्य सहयोगी बनेको खुलेको छ ।

सिटी स्क्यान खरिदकै लागी उनलाई त्रिशूली अस्पतालमा सरुवा गरिएको पाइएको छ । सिन्धुली र भक्तपुर अस्पतालले पनि त्रिशूलीकै मूल्यमा सिटी स्क्यान मेसिन खरिदको तयारी गरेका खुलेको छ । मिलेमतोमा हुन लागेको खरिदमा बिचौलियाको रूपमा नातामा स्वास्थ्यमन्त्रीका भान्जा पर्ने ज्ञानेन्द्र थापा सबैभन्दा धेरै सक्रिय देखिएका छन ।

सम्बन्धित अस्पतालको प्रमुखसँग भेट्ने, आफू निकट आपूर्तिकर्ताको प्राविधिक स्पेशिफिकेशन अनुसारकै स्पेशिफिकेशन बनाउन लगाउन उनी सक्रिय रुपमा खुलेर लागेका छन । स्वास्थ्यमन्त्री बस्नेतले प्रदेशको स्वास्थ्यमन्त्री उत्तम जोशीलाई बाइपास गर्दै प्रदेश सचिव मार्फत काम अगाडि बढाएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

अस्पतालमा क्यानन–तोसिवाको सिटी स्क्यान मेसिन खरिद गराउन सोही अनुकूल स्पेशिफिकेशन बनाउन लगाएका छन्। त्रिशूलीको स्पेशिफिकेशन लक्ड छ । अन्त पनि सोही स्पेशिफिकेशन अनुसार टेन्डर आव्हान गर्ने तयारी अगाडि बढिसकेको देखियो। क्यानन–तोसिवा एउटै कम्पनीका दुई ब्रान्च भएकाले यीमध्येबाटै सिटी खरिदको तयारी गरिएको छ।

दुई वर्ष अघि मेसिन उत्पादक कम्पनी ‘तोसिवा’लाई ‘क्यानन’ले लिएको हो। क्यानन जापानी मेसिन हो। क्याननको आधिकारिक नेपाली सप्लायर्स कम्पनी ‘मेट्रोनिक्स नेपाल प्रा.ली.’ हो। यसका प्रमुख धिरज रहेका छन । भण्डारी सर्जिकल हाउसका मालिक आरएस भण्डारी हुन्। उनी ह्याम्स अस्पतालका अध्यक्ष समेत हुन्।

स्वास्थ्य मन्त्री बस्नेतका भान्जा ज्ञानेन्द्र थापा, धिरज र आरएसका मुख्य सहयोगी रहेको खुलेको पाइएको स्रोतले जानकारी दिएको छ । मेसिन उत्पादक कम्पनी क्याननको आधिकारिक नेपाली सप्लायर्स कम्पनी ‘मेट्रोनिक्स नेपाल प्रा.ली.’ भए पनि मेट्रोनिक्सले यो सिटीको टेन्डर प्रस्ताव नगरी आरएस भण्डारीले भण्डारी सर्जिकल वा उनी निकट अन्य कम्पनीमार्फत त्रिशूलीको सिटी खरिदका लागि टेन्डर पार्ने रणनीति रहेको देखिन्छ।

यी सबै चाँजोपाँजो मिलाउन सक्रिय देखिएका थापासँग सम्पर्क गर्दा उनले ‘आफू स्वास्थ्य मन्त्री बस्नेतको आफ्नै भान्जा नभए पनि नाताले भान्जा पर्ने’ बताए। उनले आरएस भण्डारीसँग पनि चिनजान भएको स्विकार गरेका छन् ।

त्रिशूली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सिंहले एउटा कम्पनीको मेसिनसँग मात्रै मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन नबनाएको र मेसिन खरिदमा कमिसनको खेल नरहेको दाबी गरे ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट सिटी खरिदको प्राविधिक तथा आर्थिक लगायतको कागजात स्वीकृति भएर आएको उनले जानकारी दिएका छन । आज भन्दा डेढ वर्ष अघि–२०७८, फागुन मा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बागमती प्रदेश हेटौँडाले पाँच वटा सिटी स्क्यान मेसिन खरिदका लागि टेन्डर आह्वान गरेको थियो।

त्यो बेला प्रदेशले आह्वान गरेको टेन्डर चाहेको कम्पनीलाई दिने प्रयास गर्दा कमिसनमा विवाद निम्तिएपछि प्रक्रिया नै रद्द भएको थियो। जापानी कम्पनी हिताचीको नेपाली सप्लायर्सले गत वर्ष यही मुख्य प्राविधिक स्पेशिफिकेशन भएको सिटी स्क्यान मेसिन करिब पाँच करोडमा ल्याइदिनेगरी प्रस्ताव गरेका थिए। क्यानन–तोसिवाले करिब ६ करोड ४० लाखको टेन्डर हालेको थियो। स्पेशिफिकेशन अहिले जुन हो मुख्य बुँदा अहिले पनि त्यही नै हो।

त्यो बेला पाँच वटा सिटी स्क्यान मेसिन खरिदका लागि टेन्डर सूचनामा सिटी स्क्यान मेसिनको खरिदका लागि बोलपत्र प्रस्तावक कम्पनी (बिडर)ले कम्तीमा ८० लाख बोलपत्र जमानत रकम (बीड सेक्युरिटी अमाउण्ट) राख्नुपर्ने उल्लेख गरेको थियो। सो जमानत रकमको आधारमा हेर्दा औसतमा पाँच वटा सिटी स्क्यान मेसिन करिब ३२ करोडमा किन्न टेन्डर भएको पुष्टि हुन्छ।

यसरी हेर्दा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बागमती प्रदेश (हेटौँडा)ले डेढ वर्ष अघि खरिद गर्न खोजेको एउटा सिटीको लागत मूल्य करिब ६ करोड ४० लाख देखिन्छ। यो त मेसिन खरिदका लागि छुट्टाइएको बजेटको सिलिङ हो। मेसिन यो रकम भन्दा कममा खरिद हुन पनि सक्थ्यो।

तर, डेढ वर्षको अन्तरालमा नै त्रिशूली अस्पतालले त्यही किसिमको मेसिन करिब तीन करोड बढी मूल्यमा किन्न टेन्डर गर्यो। स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बागमती प्रदेश हेटौँडाले सिटी स्क्यान मेसिनको टेन्डर गर्दा उसले पाँच वर्षको वारेन्टी राखेको थियो। ‘दी वारेन्टी पिरियड फर दीज् आइटम्स स्यालबी फाइव एयर्स कम्प्रिहेन्सीभ वारेन्टी इन्क्लुडिङ एक्स–रे ट्युब, अल पार्टस् एन्ड लेवर’,डेढ वर्षअघि आपूर्ति व्यवस्थापन केन्द्रले गरेको सिटीको टेन्डरको कागजातमा भनिएको थियो।

तर, त्रिशूली अस्पतालले ‘दी वारेन्टी पिरियड फर दीज आइटम इन्क्लुडिङ एक्स–रे ट्युब स्यालबी टु एयर्स आफ्टर सक्सेसफुल इन्स्टलेशन अगेन्स्ट एनी म्यानिफ्याक्चर डिफेक्ट्स’ लेखेर अहिले सिटी मेसिनको वारेन्टीको समय दुई वर्ष मात्रै राखेको छ।

वारेन्टीको समय घटाउनासाथ मेसिनको मूल्य कम हुनुपर्ने हो। तर उल्टो बढ्यो। वारेन्टीको अवधिभर मेसिनमा कुनै समस्या आए कम्पनीले बेहोर्नुपर्ने हुन्छ। तर, वारेन्टीको समय सकिएपछि मेसिन खरिद गर्ने संस्थाले नै मर्मत लगायतका खर्च बेहोर्नुपर्ने हुन्छ। जति छोटो समयको वारेन्टी राख्यो मेसिन ल्याउने सप्लायर्सलाई त्यति बढी फाइदा हुन्छ।

वारेन्टी पाँच वर्षबाट घटाएर दुई वर्ष बनाउँदा मेसिनको मूल्य नै करिब तीन करोड कम हुने एक जानकारले बताएका छन । यो मेसिनमा जुत्ता किन्दा छुट्टै तुना किन्नुपर्छ भन्ने जस्तै गरी प्राविधिक स्पेशिफिकेशन बनाइए देखिन्छ। तर डा. सिंह आठ वर्षको कम्प्रिहेन्सिभ पिरियड भएकाले दुई वर्षपछि मेसिन बिग्रिए पनि अस्पताललाई आर्थिक भार नपर्ने कुतर्क गर्छन् ।

त्रिशूलीको टेन्डर सूचनामा सिटी स्क्यान मेसिन खरिदका लागि बोलपत्र प्रस्तावक कम्पनी (बिडर)ले कम्तीमा २१ लाख १३ हजार दुई सय बोलपत्र जमानत रकम (बीड सेक्युरिटी अमाउण्ट) राख्नुपर्ने उल्लेख छ । सो जमानत रकमको आधारमा हेर्दा सतमा करिब आठ करोड ४५ लाख २८ हजार मूल्यको सिटी स्क्यान मेसिन खरिदको लागि टेन्डर भएको देखिन्छ। तर, यो सिटी खरिदका लागि बजेटको सीमा आठ करोड मात्र हो । सामान्यतया टेन्डर आह्वान गर्नु अघि खरिद गर्ने मेसिनको लागत अनुमान तयार गर्न मेसिन खरिदका लागि बोलपत्र (टेन्डर) पेस गर्ने सम्भावित सप्लायर्स कम्पनीहरूलाई खरिद गरिने मेसिनको स्पेशिफिकेशन पठाइन्छ।

सप्लायर्सले दिएको मेसिनको लागत अनुमानलाई आधार मानेर टेन्डर गर्ने संस्थाले मेसिन खरिदका लागि लाग्ने सम्भावित लागत अनुमान तयार गर्छ। सामान्यतया कम्तीमा तीन वटा कम्पनीसँग दररेट मागेर लागत अनुमान तयार गरी टेन्डर प्रक्रिया अगाडी बढाउनुपर्ने हुन्छ। त्रिशूलीको टेन्डर आह्वानको सूचनामा ‘प्रि–बिड मिटिङ’ हुने मिति कात्तिक एक गते बुधवार दुई बजे (अक्टोबर १८) लाई तोकिएको थियो। तोकिएको समयमा अस्पतालले ‘प्रि–बिड मिटिङ’ पनि राखेको देखिन्छ।