भारतले नेपालका भूकम्पपीडितलाई १६ करोड बराबरको सहयोग

२० कार्तिक २०८०, सोमबार १०:४५

काठमाडौं, २० कात्तिक । भारतले नेपालका भूकम्पपीडितलाई राहत सामग्री सहयोग गरेको छ । भारतले १६ करोड नेपाली रुपैयाँ बराबरको आपतकालीन राहत सामग्री सहयोग गरेको हो ।

जाजरकोटमा शुक्रबार राति गएको भूकम्पपछि नेपाललाई हरसम्भव सहयोग उपलब्ध गराउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धताअनुरुप आपतकालीन राहत सामग्रीको पहिलो खेप नेपालगन्ज ल्याइएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

भारतीय वायसेनाको एक विशेष विमान सी–१३० ले ११ टनभन्दा बढी आपतकालीन राहत सामग्री लिएर आएको हो । उक्त सामग्री भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका थिए ।

उक्त अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा पनि थिए । राहत सामग्रीमा भूकम्प प्रभावित मानिसहरुका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लीपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटरजस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधि रहेको दूतावासले जनाएको छ ।

आगामी दिनमा राहत सामग्रीका थप खेपहरु नेपाल आइपुग्ने अपेक्षा गरिएको दूतावासले जनाएको छ । घनिष्ट मित्र र छिमेकी भएको नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकाहरुलाई हरसम्भव सहयोग गर्न भारत प्रतिबद्ध छ, विज्ञप्तिमा भनिएको छ, छिमेकी मुलुक होस् या अन्य मुलुक संकटको बेला सहयोगको हात बढाउन भारत सदैव अगाडि रहेको छ ।