सिद्धार्थनगरका नगरप्रमुखले ६ महिनाको तलब राहत कोषलाई दिने

२० कार्तिक २०८०, सोमबार १०:३५

काठमाडौं, २० कात्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) का नगर प्रमुख इश्तियाक अहमद खाँले आफ्नो ६ महिनाको तलब जाजरकोट भूकम्प पीडितक राहत कोषमा दिने घोषणा गरेका छन् ।

नगरप्रमुख खाँले ६ महिनाको सुविधा बराबरको २ लाख ३४ हजार रुपैयाँ जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहतमा दिएको जानकारी दिएका हुन् ।

मेयर खाँले मासिक ३९ हजार रुपैयाँ सुविधा पाउँ छन् । भूकम्पले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै मेयर खाँले भूकम्प पीडितहरुको पुनंस्थापना, गाँसलगायतका व्यवस्थापनका लागि सहयोग होस् भन्ने हेतुले उक्त सहयोगको घोषणा गरेको जानकारी दिए ।

उनले घोषणा गरेको सहयोग रकम दुवै जिल्लाको विपद् व्यवस्थापन कोष वा नेपाल सरकारले तोकेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिने सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ ।

यस्तै विनासकारी भूकम्पछि सिद्धार्थ नगरपालीकाले विभिन्न संघसस्थाको सहयोगमा भुकम्प प्रभावित क्षेत्रमा एक ट्रक राहत आइतबार राती पठाएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

नगरपालिकको साथै नगरको विभिन्न संघसंस्थाको सहयोगमा कम्बल, चामल, चाउचाउ, फुरनदाना, सिरक, लत्ताकपडा लगायतका एक ट्रक राहत साम्रगी जाजरकोट जिल्लाका लागि आईतबार राती जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीका अध्यक्ष (प्रजिअ) गणेश अर्याललाई हस्तान्तरण गरेको नगर सचिवालयले जनाएको छ ।