चारदिने भ्रमण सकेर न्युयोर्क फर्किए महासचिव गुटरेस

१५ कार्तिक २०८०, बुधबार १३:०४

काठमाडौं, १४ कातिक– नेपालको चारदिने औपचारिक भ्रमण सकाएर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस आज न्युयोर्क फर्किएका छन् । उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाई गरे ।

विमानस्थलमा उनको विदाइका लागिपरराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए । महासचिव गुटरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

उनी कतार एयरवेजको उडानमार्फत बिहान १० बजेपछि न्युयोर्क प्रस्थान गरेका हुन् । न्युयोर्क फर्कनुअघि गुटेरेसले मंगलबार संघीय संसदको सयुक्त बैठकलाई सम्बोधन गरेका थिए।आइतबार राति काठमाडौं आइपुगेका गुटरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड, सभामुख देवराज घिमिरे,गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका राजनीतिक दलका नेताहरू, र मन्त्रीलगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

नेपाल बसाइका क्रममा उनले आइतबार उपत्यकाको पाटन दरबार स्वायर क्षेत्रसँगै उपत्यका बाहिर पोखरा, सोमबार सोलुखुम्बुको सगरमाथा क्षेत्र मंगलबार अन्नपुर्ण आधार शिविर र लुम्बिनीको भ्रमण गरेका थिए ।

मंगलबार सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनी पुगेका महासचिव गुटरेसले शान्ति भूमि लुम्बिनीबाट इजरायल–हमासयुद्ध रोक्नुपर्ने ,म्यानमार,सुडान लगायतका राष्ट्रमा भएको अशान्ति हटाउन अपिल गरे ।

संघीय संसदको दुवै सदनलाई मंगलबार साझ सम्बोधन गरेका महासचिवले संक्रमणकालीन न्यायको केन्द्रमा पीडितलाई राखेर टुङ्याउनुपर्ने,नेपालमा जलवायु परिवर्तनको असर विनाशकारी रहेको र त्यसमा आफूले साथ दिने एवं विश्वशान्तिका लागि नेपालको योगदानप्रशंसनीय रहेको भन्दै मुख्यगरी तीन सन्देश दिएर फर्किएका छन् ।