काठमाडौं, १४ कातिक– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले, जलवायु परिर्वतनका कारण नेपालले भोग्नु परेको असरबारे विश्वको ध्यानाकर्षण गराउने बताएका छन ।
नेपालको संघीय संसदको दुबै बैठकलाई मंगलबार सम्बोधनगर्दै उनले, आफूले नेपाल भ्रमणका क्रममा धेरै कुरा नजिकबाट देखेको र जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई सहयोग पुग्ने गरी भूमिका खेल्न तयार रहेको बताए ।
उनले नेपाल भ्रमणका क्रममा आफूले पाएको आतिथ्यताप्रति आफू निक्कै प्रभावित भएको भन्दै अवसरका लागि सरकारलाई धन्यवाद दिए । उनले भने ‘जलवायु परिवर्तनमा नेपालले जे भोगिरहेको छ त्यसमा सहयोगका लागि म प्रतिबद्ध छु । ’
त्यस्तै उनले इजरायल आक्रमणमा ज्यान गुमाएका परिवारप्रति श्रद्धान्जली व्यक्तगर्दै र कब्जामा रहेका विपिन जोशीको रिहाका लागि ध्यानाकर्षण गराए । त्यस्तै उनले नेपालको शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सहयोगका लागि संयुक्त राष्ट्रसंघको साथ रहेने बताए ।
संयुक्त राष्ट्रसंघ र नेपाल पुरानो साथी भएको बताउँदै उनले थप सहयोग र सहकार्यको अपेक्षा गरे ।
