काठमाडौं, १३ कातिक– नवौं संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगल ढकाललाई दिएको आममाफी झनैं पेचिलो बन्दै गएको छ ।
नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेका रिगल डन भनिने योगराज ढकालले संविधान दिवसका दिन आममाफी पाएका थिए ।
रिगलको आममाफीविरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । उनले दायर गरेको रिटको सुनुवाई कात्तिक १४ गते (भोलि) का लागि तोकिएको छ ।
भारतीले न्याय पाउनुपर्ने भन्दै आज (सोमबार) सामाजिक अभियन्ता, मानव अधिकारकर्मी, कानुनविद् र सरोकारवालाहरुले पीडितको पक्षमा रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरेका छन् ।
कार्यक्रममा अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी विद्या श्रेष्ठ मानन्धरले आममाफीको नाममा हत्यारालाई उन्मुक्ति दिनु गलत भएको बताइन् । आफूहरु विधिको शासनका लागि लडिरहेको बताउँदै उनले आममाफी पुनर्विचार गरिनुपर्ने धारणा राखिन् ।
‘आममाफीको नाममा हत्यारा र ठूला–ठूला अपराधी छुट्ने गरेका छन् । के यो न्याय हो ? हामी नेपालीहरु विधिको शासनमा विश्वास गर्छौं । रुलअफ ल कायम हुनुपर्छ भनेर हामी लडिरहेका छौं,’ उनले भनिन् ।
राष्ट्रपति लगायत जनताले जिताएर पठाएका जनप्रतिनिधिहरु विधिको शासन कायम गर्न असफल भएको उनको टिप्पणी छ । रिगल ढकालको आममाफी बारेमा आफूले संयुक्त राष्ट्रसंघको फ्रन्ट लाइन डिफेन्डरमा पनि कुरा राखेको उनले बताइन् ।
रिगलले व्यक्ति हत्या र भारतीको चरित्र हत्या गरेर दुईवटा अपराध गरेको उनको दाबी छ । रिगलको आममाफी मानव अधिकारकर्मी लगायत आफूहरुले स्वीकार गर्न नसक्ने उनले बताइन् ।
‘रिगल ढकालको अन्तरवार्ता मैले हेरेको छु । यो विषयमा मैले हाम्रो फ्रन्ट लाइन डिफेन्डरमा पनि कुरा राखेको छु । उहाँले दुईवटा अपराध गरेको मैले ठानेको छु ।
एउटा चेतन मानन्धरको हत्या, अर्को उहाँले भारती बहिनीको चरित्रहत्या गरेर अपराध गर्नुभएको छ’ उनले भनिन्, ‘उहाँ अपराधी हुनुहुन्छ भनेर मैले ठम्याएको छु । उहाँलाई आममाफी मान्दैनौं ।’
उनले भोलि हुन गइरहेको उक्त मुद्दाको सुनुवाइले राष्ट्रपतिको गलत कदमलाई सही ट्रयाकमा ल्याउने विश्वास व्यक्त गरिन् । ‘१४ गते उक्त मुद्दाको सुनुवाइ हुन गइरहेको छ ।
मलाई आशा छ, हामी विधिको शासनमा विश्वास गर्ने नेपाली भएकाले सम्मानीत सर्वोच्च अदालतले राष्ट्रपतिको गलत कदम आममाफी फिर्ता गराएर अपराधीलाई उन्मुक्ति दिने काम बन्द गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं,’ उनले भनिन् । सामाजिक अभियन्ता रविन्द्रकुमार श्रेष्ठले रिगलको आममाफीबाट भारती मानन्धरलाई अन्याय भएको दाबी गरे ।
ज्यानसम्बन्धी कसुृरमा जेल जीवन बिताइरहेका रिगललाई आममाफी दिने निर्णय गरेर मन्त्रिपरिषददेखि राष्ट्रपतिले समेत भारतीमाथि अन्याय गरेको उनले बताए । आममाफी लखेटी लखेटी खुँडा प्रहार गरेर हत्या गर्ने हत्यारा, बलात्कारी र भ्रष्टाचारीले पाउने चिज नभएको उनको भनाई छ ।
