दुर्गा प्रसाईंलाई पक्रन प्रधानमन्त्रीलाई आग्रह गरिएको छैनः एमाले

१३ कार्तिक २०८०, सोमबार १६:०५

काठमाडौं, १३ कातिक– एमालेले आफ्ना अध्यक्ष केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुर्गा प्रसाईंलाई पक्रन आग्रह नगरेको दाबी गरेको छ ।

माओवादी पदाधिकारी बैठकमा आइतबार प्रचण्डले ओलीले प्रसाईंलाई पक्राउ गर्न दबाब दिएको ब्रिफिङ गरेका थिए । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दुर्गा प्रसाईंको हावादारी कुराका पछि ओली नलाग्ने बतएका छन ।

उनले भने, ‘दुर्गा प्रसाईंले गरेको हावादारी कुरालाई महत्व दिन जरुरी छैन ‘हाम्रो अध्यक्षले प्रधानमन्त्रीसँगको भेटमा उनीबारे कुनै कुरा गर्नुभएको छैन ।’ माओवादी केन्द्रले एमाले नेतृत्वविरुद्ध अनर्गल हौवा फैलाएको आरोप ज्ञवालीले लगाए ।

शुक्रबार प्रचण्ड र ओलीको भेट भएको थियो । ओली प्रधानमन्त्री भएका बेला कम्बोडियाको टेलिकम्युनिकेशन सेक्टरका २७ सय देखि ३ हजार अर्ब रुपैयाँ लगानी गरेको आरोप प्रसाईंले युट्युमार्फत लगाएका थिए ।पछिल्लो समय प्रसाईंले एमाले नेतृत्वविरुद्ध एकपछि अर्को आरोप लगाउँदै आएका छन् ।

प्रसाईंमाथि दसैंअघि काठमाडौको एक होटलमा केही अपरिचितले कालोमोसो दलेका थिए । प्रसाईंले एमाले नेता महेश बस्नेतले युवासंघ कार्यकर्ता प्रयोग गरी आफूलाई कालोमोसो दल्न लगाएको आरोप लगाउँदै आएका छन् । बस्नेतसँग बदला लिन उनले आफ्नो गृह जिल्ला झापामा बस्नेत सहभागी एक कार्यक्रममा समर्थक लगाएर ढुंगामुडा गरेका थिए ।