सीमा नाकामा तालिमप्राप्त कुकुर प्रयोग गरी निगरानी

१३ कार्तिक २०८०, सोमबार ११:००

विराटनगर, १३ कातिक– भारतसँग सीमा जोडिएका कोशी प्रदेशका जिल्लाहरुमा प्रहरीले पर्वलक्षित जाँच अभियान सुरु गरेको छ । यस क्रममा झापाको भद्रपुरस्थित सीमा नाकामा विशेष तालिमप्राप्त कुकुरको प्रयोग गरिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार सीमावर्ती क्षेत्र तथा नाकाहरमा कडाइका साथ जाँचसहित निगरानी भइरहेको जनाइएको छ ।

भद्रपुर नगरपालिका–५ स्थित मेची पुल तथा आसपासका क्षेत्रमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले दुईवटा तालिमप्राप्त कुकुर प्रयोग गरी जाँच गरिरहेको छ ।

सीमा नाकाबाट आवत जावत गर्ने सवारी साधन तथा शंकास्पद व्यक्तिहरुको जाँच भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । तिहार अघि ठूलो परिमाणमा पटाका भित्र्याउने गरिएका नाकाहरुमा पनि विशेष निगरानी भइरहेको प्रहरीलेजानकारी दिएको छ ।

यस अघि विराटनगरस्थित सीमावर्ती नाका जोगबनीलगायत नाकाहरुमा प्रहरी टोलीले जाँच तथा निगरानी गर्दै आएको छ । यसबाहेक प्रदेशका १४ वटै जिल्लामा पनि पर्वलक्षित सुरक्षा योजनाअनुसार काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कोशी प्रदेशअन्तर्गत रहेका मुख्य सीमा नाकासहित अन्य नाकाहरु तथा आसपासको सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागूऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि टोलीहरु परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दसैँ सुरु भएदेखि नै प्रदेश प्रहरी कार्यालयले चाड पर्व सुरक्षा कार्य योजना २०८० अनुसार निगरानी गर्न थालेको हो ।योजनाअनुसार प्रदेशमा ७ हजार ५ सयभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको जनाइएको छ ।