नेपाल टेलिकमको दशैं अफर: ३९९ रुपैयाँमा ३० जीबी र हरेक रिचार्जमा ८ जीबी सम्म डेटा बोनस

२८ आश्विन २०८०, आईतवार १३:४५

काठमाडौं, २८ असोज– नेपाल टेलिकमले,दशैं अफर अन्तर्गत सहुलियत दरका डेटा र भ्वाइस प्याकसहित रिचार्ज अन बोनस उपलब्ध गराउने भएको छ ।

दशैंका लागि यो अफर आज असोज २८ देखि प्रारम्भ भएको छ । र आगामी कात्तिक १० गतेसम्म उपलब्ध हुनेछ । अफर अन्तर्गत रु. ४९ मा एक दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डेटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ ।

त्यसैगरी रु. ९८ मा तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक उपलब्ध हुनेछ भने रु. १९९ मा सात दिन सम्म प्रयोग गर्न सकिने १३ जीबी डेटा प्याक, रु. २९४ मा १० दिन सम्म प्रयोग गर्न सकिने २० जीबी डेटा प्याक र रु. ३९९ मा १५ दिन सम्म प्रयोग गर्न सकिने ३० जीबी डेटाप्याक उपलब्ध हुनेछ ।

सोही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोग कर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोग कर्ताका लागि ३० दिन सम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा रहेको छ । त्यसैगरी एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डेटा प्याकेज उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

यस अनुसार रु. २०० देखि रु. ४९९ सम्मको रिचार्ज गर्दा दुई दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डेटा उपलब्ध हुनेछ ।

त्यसैगरी रु. ५०० र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डेटा उपलब्ध हुनेछ । त्यस्तै गरी कम्पनीले रु. ११९९ मा सजिलो अनलिमिटेड प्याकेज उपलब्ध गराउने भएको छ ।

यसअघि यो प्याकेजको शुल्क रु. १४९९ थियो । यस अफर अन्तर्गत अनलिमिटेड अल–नेट भ्वाइस कल, १००० वटा अल–नेट एसएमएस र प्रतिदिन ४ जीबी डेटा उपलब्ध हुनेछ ।

यो प्याकप्रिपेड मोबाइलमा २८ दिन र पोस्टपेड मोबाइलमा ३० दिनसम्म चलाउन पाइने छ । पोस्टपेड मोबाइलमा आवश्यक रेन्टल समेत यसमा समावेश हुनेछ । यी प्याकहरू मोबाइलमा *1415*11# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी उपयोग गर्न सकिन्छ ।