कोशीमा माओवादीलाई मुख्यमन्त्री दिने सहमतिप्रति कांग्रेसको कोइराला पक्ष असन्तुष्ट

२५ आश्विन २०८०, बिहीबार १८:१०

विराटनगर, २५ असोज– कोशी प्रदेशको मुख्यमन्त्री नेकपा माओवादी केन्द्रलाई दिने केन्द्रमा सहमति भएपछि नेपाली कांग्रेसको शेखर कोइराला पक्ष असन्तुष्ट बनेको छ ।

शीर्ष नेताहरुले माओवादीको कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति गरेका छन् । उक्त सहमतिप्रति असन्तुष्ट रहेको कांग्रेसको कोइराला पक्ष वैकल्पिक तरिकाले सरकार बनाउने गृहकार्य सुरु गरेको छ ।

कोइराला पक्षले कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री बनाउने पहल गर्दै आएको थियो । तर केन्द्रमा नेताहरुले सरकारको नेतृत्व माओवादीलाई दिने सहमति गरेपछि कोइराला पक्ष असन्तुष्ट बनेको हो ।सरकार बनाउने सन्दर्भमा कांग्रेस सांसद र नेताहरुले अनौपचारिक छलफल गरिरहेका छन् ।

छलफलका क्रममा नेकपा एमालेसँग मिलेर कार्कीको नेतृत्वमा सरकार बनाउने कुरा पनि उठेको एक नेताले बताए ।यसका लागि कांग्रेसका ८ प्रदेशसभा सदस्यको हस्ताक्षर संकलन गरिएको उनले बताए ।

हस्ताक्षर गर्नेमा उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र केदार कार्की छन् ।

कोशी प्रदेशमा कांग्रेसका २९ प्रदेश सांसद छन् । तीमध्ये कोइराला पक्षका ९ जना छन् । कोइराला पक्षकै गयानन्दले भने हस्ताक्षर गरेका छैनन् । केन्द्रमा पार्टीले कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई नै फेरि पनि मुख्यमन्त्री बनाउने पहल गरेको थियो ।

तर अरु दलका नेताहरुसँगको छलफलमा उनका लागि सहमति जुट्न नसकेको जनाइएको छ ।त्यही कारण माओवादी सांसदीय दलका नेता आङ्बोलाई मुख्यमन्त्री बनाउन कांग्रेस शीर्ष नेतृत्व पनि सहमत भएको एक नेताले बताए ।

आफूहरुको आग्रहलाई बेवास्ता गर्दै कोशी प्रदेश सरकारको नेतृत्व माओवादीलाई दिने सहमति भएपछि के गर्ने भनेर अनौपचारिक छलफल भइरहेको कोइराला पक्षका एक प्रदेश सभा सदस्यले बताए ।

उनका अनुसार नेकपा एमालेसँग मिलेर सरकार बनाउने कोणबाट पनि छलफल भएको छ । यसबारे एमालेसँग भने औपचारिक कुराकानी हुन बाँकी रहेको ती सभासदले बताए ।यसैबीच, एमालेको कोशी प्रदेश कमिटीका नेताहरुले मिलेर जाने हो भने औपचारिक निर्णय गरेर आउन भनेको बताइएको छ ।