एसीसी यू १९ प्रिमियर कप: इरानविरुद्ध नेपाल २७४ रनले विजयी

२५ आश्विन २०८०, बिहीबार १३:१४

काठमाडौं, २५ असोज– एसीसी यू १९ प्रिमियर कपमा कप्तान देव खनालको शतक र उत्कृष्ट बलिङको सहयोगमा नेपालले इरानमाथि २ सय ७४ रनको सानदार जित हात पारेको छ ।

जितका लागि ३ सय ५४ रनको विशाल विजयी लक्ष्य पछ्याएको इरान ३० दशमलव ५ ओभरमा ७९ रनमा अल आउट भयो । इरानका ओपनर आमेर खोर्सन्दले २२ बलमा १ चौका र ५ छक्कासहित ३७ रन बनाए ।

साबेर इब्राहिमपुरले ४३ बलमा १ चौकासहित ११ रनमा नट आउट रहे । अन्य कुनैपनि इरानी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका दीपेश कँडेलले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिए ।

सुवास भण्डारीले ८.५ ओभरमा ४ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिए । हेमन्त धामी र आकाश चन्दले दुई दुई विकेट लिए ।त्यसअघि मलेसियाको वाइएसडी युकेएम ओभल बाँगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४० दशमलव १ ओभरमा सबै विकेट गुमाएर ३ सय ५३ रनमा अल आउट भएको थियो ।

नेपालको जितमा कप्तान देव खनालले ६० बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए ।इरानका दद्रहमान राइसीले ९ ओभरमा ६७ रन खर्चेर ३ विकेट लिए । सलमान निज्मान्दले ८ ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए । समान शेखी र जियाद राइसीले समान दुई विकेट लिएका थिए ।

प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् ।