मुगु, २३ असोज– शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि दाता र स्थानीय तहको साझेदारीमा निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण गरिएको छ ।
जीर्ण भवनको ठाउँमा व्यवस्थित कोठाहरु भएको भवन बनेपछि विद्यार्थीहरुलाई पठनपाठनमा सहज हुने भएको छ ।छाँयानाथ रारा नगरपालिका वडा नम्बर २ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा रहेका भवनहरु जीर्ण बन्दै गएपछि बालबालिकालाई पठनपाठनमा समस्या थियो ।
त्यही समस्यालाई ख्याल गर्दै छाँ–या नेपाल संस्थाको २७ लाख र छाँयानाथ रारा नगरपालिकाको १५ लाख रुपैयाँ गरी ४२ लाखमा भवन बनाइएको हो ।
उक्त भवन छाँ–या नेपालले छायाँनाथ रारा नगरपालिकालाई हस्तान्तरण गरेको हो । साझेदारीमा बनाइएको दोस्रो तल्लाको ४ कोठे भवनका कारण बालबालिकालाई सहज हुने भएको छ ।
छाँ–या नेपाल काठमाडौ र छाँयानाथ रारा नगरपालिकाले भवन तथा अन्य बिभिन्न क्षेत्रमा सहयोग गदै आएकामा दाताहरुलाई धन्यवाद दिंदै प्रधानध्यापक दिलिपकुमार शाहीले सहयोगको सदुपयोग गर्ने बताए ।
पछिल्लो समयमा दाताहरुले एक बिद्यालयमा एकमात्र क्षेत्रमा काम गदै आएकामा छाँ–या नेपाल र नगरपालिकाले सहयोग विस्तार गरेका छन् ।विद्यालयमा भौतिक पूर्वधार, घेराबारा, भवन, खेल मैदान, शैक्षिक सामग्री, करेसाबारी लगायत सुविधा भएको छ ।
हाल उपलब्ध पूर्वाधार र सहयोगमा प्राप्त पूर्वाधारलाई सही तरिकाले प्रयोगमा ल्याउने साथै संरक्षण गर्ने काममा ध्यान दिनुपर्ने शिक्षा बिकास तथा समन्वय ईकाइ मुगुका प्रमुख सूर्यबहादुर खत्रीले बताए ।
छाँ–या नेपालले नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा दृष्टिविहीन विद्यार्थीसहित अरु विद्यार्थीलाई पनि सहयोग गर्दै आएको छ ।समुदायका नागरिकहरुले आफ्ना बालबालिकालाई निजी विद्यालयमा भन्दा सामुदायमा विद्यालयमा पठनपाठन गराउन छाँयानाथ रारा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष परेकराज चौलागाईले आग्रह गरे
।नगर प्रमुख विस्नुकुमार भामले अब नगरपालिकाले शिक्षा क्षेत्रमा बढी लगानी गर्ने बताए । उक्त विद्यालयमा छात्रभन्दा छात्राको संख्या बढी छ । पढाइ राम्रो भएको साथै भौतिक पूर्वाधार पनि व्यवस्थित हुँदै आएपछि अभिभावकहरु विद्यालयमा आकर्षित भएका छन् ।उक्त विद्यालयमा पढेका बालबालिकाको भविष्य पछि राम्रो हुने विश्वास छाँ–या नेपाल काठमाडौका अध्यक्ष सबिना कोलेजले व्यक्त गरिन् ।
