सांसद पौडेलको प्रश्नः के आधारमा हत्यारालाई आममाफी दिइयो ?

१८ आश्विन २०८०, बिहीबार १५:१६

काठमाडौँ, १८ असोज– पूर्व परराष्ट्रमन्त्री एवं राष्ट्रिय सभा सदस्य विमला राई पौडेलले नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिई हत्या गर्ने रिगल भनिने योगराज ढकाललाई सरकारले आममाफी दिएको प्रति आक्रोस पोख्दै गृहमन्त्रीको जवाफ मागेकी छन् ।

आज बिहीबार राष्ट्रिय सभा बैठकमा सांसद पौडेलले यस्तो बताएकी हुन । चेतनको हत्यारालाई सरकारले कानून संविधान मिचेर के आधारमा आममाफी दिन सिफारिस गरेको हो भन्नेबारे गृहमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग गरिन् ।

उनले रिगललाई आममाफी दिएकोप्रति गृहमन्त्री र राष्ट्रपतिमाथि प्रश्न समेत गरिन् ।उनले भनिन, ‘मान्छे मार्ने नाइकेलाई गृहमन्त्री र मन्त्रिपरिषद्ले कुन आधारमा कुन मापदण्ड र कुनचाहिँ आधारमा बसेर आममाफीको सिफारिस गर्नुभयो ?

आममाफीको मापदण्ड के हो ? यो निर्णय कस्को आधारमा कस्को दबावमा के तरिकाले गरिएको हो त्यसको जवाफ गृहमन्त्रीले यहाँ उभिएर दिनुपर्छ यो मेरो माग हो ।

’उनले जन्मकैदको सजाय पाएका हत्यारालाई आममाफी दिँदा पीडित परिवारसँग छलफल गर्र्नुपर्नेमा जोड दिदै थपिन्, ‘आम माफी दिने निर्णय गर्दा पीडितहरुसँग छलफल हुन्छ कि हुँदैन ?

पीडितको चित्त बुझाउनुपर्छ कि पर्दैन ? पीडितलाई नसोधी उनीहरुको अनुमति बेगर दिनदाहाडै मान्छेको हत्या गरेको हत्यारालाई छोड्न मिल्छ ?’उनले प्रधानमन्त्री र गृहमन्त्री सशस्त्र द्वन्द्व गरेर आएको तर, राष्ट्रपति प्रजातान्त्रिक आन्दोलनबाट आएको व्यक्ति भएको भन्दै व्यङ्ग्य गर्दै भनिन्, ‘दुःखका साथ भन्नुपर्छ प्रधानमन्त्री र गृहमन्त्री हत्या हिंसाकै सशस्त्र द्वन्द्वको ब्याकग्राउण्डबाट आउनुभएको हो ।

यो भएर निदाउन सक्नुहुन्छ होला राष्ट्रपतिले कसरी सक्नुभयो ? यस्तो जघन्य अपराध गरेको मान्छेलाई आममाफी दिने कुरामा हस्ताक्षर गर्दा राष्ट्रपतिको हात काप्यो कि कापेन ?’