काठमाडौ, १६ असोज– ललितपुरको जाउलाखेल खेल मैदानमा वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० जारी छ । १० असोज देखी सुरु भएको मेला ३ कार्तिक सम्म चल्ने छ ।
“नेपाली उत्पादनको प्रवर्धन हाम्रो अभियान” भन्ने मूल नारासहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समूह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरू र स्वदेशी ब्रान्डहरूलाई आम उपभोक्ताहरूको वीचमा परिचित गराउने, उपभोक्ताहरूको वीचमा पुर्या उने र आम उपभोक्ताहरूलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरूको रुचि जगाउने उद्देश्यका साथ देशका प्रमुख सहरहरूमा विभिन्न खालका मेला महोत्सवहरू आयोजना हुँदै आएका छन।
आर्थिक मन्दी र बैकहरूमा देखिएको आर्थिक तरलता तथा आर्थिक अभावका कारण देशका हरेक क्षेत्रहरू प्रभावित भएका छन् ।
यस्तो विषम परिस्थितिमा उद्योगी व्यावसायीहरुको मस्तिष्कलाई सकारात्मक बनाउँदै देशको अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउन पनि मेला आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
मेलामा नयाँ–नयाँ डिजाइनका जुता चप्पल आकर्षक मूल्यमा उपलब्ध रहेका छन । मेला बिहान ९ बजे देखि बेलुकी ७ बजे सम्म खुला रहँदै आएको छ ।
मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरू रोयल सु–इण्डष्ट्रिजको उत्पादन–रोयल लुज, वेश फुटवेयरको उत्पादन–वि एफ डियर हिल र वि.एफ सपोर्ट, लालिगुरास पुटवेयरको–क्रस रोड लुज, शुभकामना फुटवेयरको–फस्टवाक लुज,
नमस्ते फुटवेयरको–सिल, आर.डि.कलेक्सनको–हाई लाईफ, केटिएम शुजको–केटिएम, डि.जे. सुज कम्पनीको–डि.जे. लुज, फुड फेशनको –वेली सुज, र अनिल टे«ड लिंक्सको–उत्सव र कोसेली छाला जुत्ता उद्योगको–कोसेली सुज गरी ११ वटा कम्पनी र ब्रान्डहरू सहभागि भएका छन ।
यसैगरी मेलामा ३ हजार भन्दा बढी मोडल र डिजाइनका जुत्ता उपलब्ध रहेको छ , नेपाली र गुणस्तरीय उत्पादन रहने, नयाँ उत्पादनहरू उक्त मेलामा लञ्च गरिनेछ भने मेला अवधि भर विशेष छुटको व्यवस्था गरिनेछ र न्यूनतम २० प्रतिशत देखि कतिपय उत्पादनहरूमा ५० प्रतिशत सम्म छुटको व्यवस्था मिलाइने छ ।
मेला संयोजक होमनाथ उपाध्यायका अनुसार मेला अवधिभरमा ३ लाख अवलोकन कर्तालाई अवलोकन गराउने लक्ष्य राखिएको छ ।
