चार किलो सुन सहित तीन जना पक्राउ

११ आश्विन २०८०, बिहीबार १२:३२

काठमाडौ, ११ असोज– प्रहरीले दोलखाबाट चार किलो सुन सहित तीन जनालाई पक्राउ गरेको छ । बुधबार साँझ ७ः२० बजेतिर दोलखाको विगु गाउँपालिका–३ जामुने स्थित सिता तामाङको घरमा लुकाइ राखेको सुन जस्तो देखिने अन्दाजी चार किलो पहेँलो धातु सहित चार जनालाई पक्राउ गरिएको दोलखा प्रहरीले जानकारी दिएको छ ।

सो घरमा सुन लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिंगटीबाट प्रहरी निरीक्षक विक्रम लामाको कमाण्डमा खटिएको प्रहरीले खान तलासी गर्दा सुन जस्तो देखिने पहेँलो धातु चार थान चार केजी बरामद गरेको प्रहरीले जनाएको छ ।

सो धातु ओसार पसारमा संलग्न शंकास्पद व्यक्ति विगु गाउँपालिका–३ का १८ वर्षीय पेम्बा तामाङ, २८ वर्षीय केशर तामाङ र विगु– १ का २० को माधव मगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिंगटीले जानकारी दिएको छ ।

घटनाको थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय दोलखबाट प्रहरी नायव उपरीक्षक दीपक खड्काको कमाण्डमा टोली खटिएर अनुसन्धान गरिरहेको छ ।