काठमाडौं, ७ असोज । मुस्ताङको घरपझोङ गाउँपालिकाले कृषि तथा पर्यटन प्रवर्धनका लागि असोजको तेस्रो हप्ता ‘घरपझोङ गाउँपालिका कृषि तथा पर्यटन महोत्सव २०८०’ आयोजना गर्ने भएको हो ।
असोज १८ देखि २० गतेसम्म मुस्ताङको जोमसोममा पर्यटन तथा कृषि महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ । हिमालपारीको जिल्लामा उत्पादित कृषिउपजको प्रदर्शनी, बजारीकरण तथा प्रवर्धन, मुस्ताङको पर्यटन तथा धार्मिक कला संस्कृति, मौलिकताका साथै स्थानीय रहनसहन र पर्यटनमैत्री जिल्ला हो भन्ने सन्देशलाई पर्यटकसामु परिचित गराउन महोत्सव आयोजना गर्न लागिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए ।
महोत्सव आयोजनाको तयारी भइरहेको र महोत्सव भव्य हुने अध्यक्ष लालचनले बताएका छन्। महोत्सव सफल बनाउन विभिन्न समिति तथा उपसमिति गठन भएको समेत जानकारी दिए। गाउँपालिकाले आफुले छुट्टै आम्दानी गर्ने भन्दा पनि जिल्लाभित्रका व्यवसायीले एक करोडभन्दा बढीको ब्यापार गर्ने अनुमान गरिएको उनको भनाइ छ ।
“आलु, स्याउ, सिमी, स्याउका अन्य उत्पादन, ब्राण्डी, साइडर, सुकुटीलगायतका परिकारबाट राम्रो ब्यापार हुने अनुमान छ ।” उनले भने । पर्यटकीय सिजनको पनि सुरुआत भएको हुनाले जोमसोममा हुने महोत्सवले राम्रो प्रभाव पार्ने बताए ।
मुस्ताङमा हुने महोत्सवको उद्घाटन असोज १८ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम तय भएको अध्यक्ष लालचनले बताए । कृषि अन्तर्गत घरपझोङ गाउँपालिकास्तरीय कृषि उपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रर्दशनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी स्टल राखिने जनाइएको छ ।
